राष्ट्रभाषाको समाचार तथा कार्यक्रम प्रशारणमा प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया

तु खबर संवाददाता
२०८१ मंसिर २३,आईतवार १७:२५

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रभाषाको समाचार तथा कार्यक्रम प्रशारणका सवाल र प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । सार्वजनिक सेवा प्रशारण, रेडियो नेपालले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रम बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा भएको हो ।

सो क्रममा मन्त्री लामिछानेले भाषा र संस्कृति पहिचानको आधार स्तम्भ भएको बताउँदै नेपाली पहिचान जीवन्त बनाउन भाषा र संस्कृति जरुरी रहेको उल्लेख गरे । प्रदेश सरकारले प्रदेशभित्रका जनताले बोल्ने बहुसंख्यक भाषालाई सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने व्यवस्था गरेको उनको भनाई छ ।

नेपाल र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रभावकारी कार्यान्वयन गर्न नियमावली बन्ने क्रममा रहेको उनले जानकारी दिए । आम सञ्चार माध्यममार्फत् भाषाको प्रर्बद्धन र संरक्षण गर्न सम्बिन्धत मन्त्रालय र सरोकारवाला निकायहरु प्रतिबद्ध रहेको समेत उनले बताए ।

यसैगरी, कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले भाषा र समाजको एजेण्डालाई आफुहरुले संगसंगै अगाडि बढाएको उल्लेख गरे । डिजिटल प्लेटफर्महरु प्रयोग गरेर देशभित्र र बाहिर रहेको सबै श्रोताहरुलाई समेट्ने प्रयास भइरहेको उनले बताए । उनले प्रदेशको संस्कृति, पर्यटन, भाषालाई जोगाउन गर्न हेटौंडामा रेडियोको प्रादेशिक कार्यालय स्थापना गर्ने चरणमा रहेको समेत बताए ।

यस्तै, सो क्रममा रेडियो नेपालका निर्देशक पुस्कर राज गौतमले रेडियो कार्यक्रममा समावेशिता र रेडियो नेपालका कार्यक्रमहरु बारे प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरु, सरोकारवाला निकायका प्रतिनिधि लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।