कांग्रेस र एमालेको संयन्त्र बैठकः यस्ता छन् निर्णयहरु

तु खबर संवाददाता
२०८१ मंसिर २४,सोमबार १०:१६

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय संयन्त्रको बैठकले विभिन्न पाँच निर्णय गरेको छ ।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आइतबार काठमाडौंमा बसेको दुई दलीय संयन्त्रको बैठकले पाँच निर्णय गरेको संयन्त्रका सचिव राजु नेपालले जानकारी दिए ।

उनका अनुसार, बैठकले प्रदेश सरकारले गरेको निर्णयलाई यथाशीघ्र कार्यान्वयन गर्दै जनचाहना अनुरुप प्रभावकारी ढंगले कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

यस्तै, बैठकले गत असोज ११ देखि १३ गतेसम्म आएको बाढीपहिरोबाट प्रदेशभित्र क्षति संरचनाको पूर्ननिर्माण र विस्थापितलाई पूर्नस्थापनाको लागि आवश्यक बजेट व्यवस्था गरि तत्काल कार्यान्वयन गर्न बागमती प्रदेश सरकालाई निर्देशन दिएको छ ।

यसैगरी, प्रदेशमा बाँकी रहेका राजनीतिक नियुक्तिहरु दुई दलको आपसी सहमतिमा टुग्याउनुका साथै समस्याग्रस्त सहकारीको पहिचान गरि कोहीपनि सदस्य पीडित नहुने व्यवस्था गर्न, स्थानीय तहको उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने नेपाल सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, पर्यवेक्षक, मतलदातालगायतलाई प्रदेशस्तरीय दुई दलीय संयन्त्रले धन्यवादसहित आभार प्रकट गरेको छ ।

बैठकमा कांग्रेसको तर्फबाट सभापति बानियाँ, मुख्यमन्त्री बहादुर सिं लामा र उपसभापति चन्द्र महर्जन तथा एमालेका तर्फबाट प्रदेश इन्चार्ज राजन भट्टराई, प्रदेश अध्यक्ष कैलाश ढुंगेल र संसदीय दलका नेता जगन्नाथ थपलियाको सहभागिता रहेको थियोे ।