अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडामा राजस्व हिनामिनाको उजुरी बढ्दो

तु खबर संवाददाता
२०८१ मंसिर २४,सोमबार १७:०९

हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा पछिल्लो समय राजस्व हिनामिनाको उजुरी बढ्दो छ । चालु आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्म परेका उजुरीमध्ये अधिकांश उजुरी राजस्व हिनामिनाको रहेको पाइएकोे हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका कार्यालय प्रमुख उमाकान्त आचार्यले चालु आवको चार महिनाको अवधिमा एक हजार ६६० उजुरी परेकोमा एक हजार ७६ उजुरी राजस्व हिनामिनाको रहेको जानकारी दिए ।

उनका अनुसार, अख्तियारको कार्यालय हेटौंडामा दर्ता भएको उजुरी मध्य ७०० फर्छ्यौट भएको छ भने ९६० फर्छ्यौट हुन बाँकी छ ।

कार्तिक मसान्तसम्म गैर कानुनी लाभहानीका १८८, विविध १२६, सार्वजनिक खरिद निर्माण १००, भूमि ४९, शैक्षिक प्रमाणपत्र १०, गैर कानुनी सम्पत्ति ९ र घुस, रिस्वतसम्बन्धी २ वटा उजुरी दर्ता भएको उनले बताए ।

आयोगमा फेसबुक, समाचारपत्र, आयोगको वेब साइड, भाइबर, हुलाक सेवा, इमेल, मोबाइल एप, हेलो सरकार, टेलिफोन, राष्ट्रिय सतर्कता केन्द्र, प्रमुख जिल्ला अधिकारी र लिखित निवेदन पर्ने गरेको पाइएको छ । ती मध्ये लिखित, इमेल र हुलाकबाट उजुरी आउनेको संख्या धेरै रहेको आयोगको तथ्याङ्कमा उल्लेख छ ।

आयोगको कार्यालय हेटौंडाले मकवानपुरसहित रौतहट, बारा, पर्सा, चितवन, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक र दोलखालाई कार्यक्षेत्र बनाएर उजुरी लिने र आवश्यक कारबाही गर्ने गरेको छ ।