आधुनिक माविमा छात्रवृत्ति कोष सुरु

तु खबर संवाददाता
२०८१ मंसिर २४,सोमबार १७:२७

हेटौंडा । मकवानपुर जिल्लाका शैक्षिक व्यक्तित्व तथा हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविमा करिब २ दशक अध्यापन गरेका सहायक प्रध्यानाध्यापक श्यामप्रसाद पराजुलीको स्मृतिमा छात्रवृत्ति कोष स्थापना गरिएको छ ।

उक्त कोषमा पहिलो पटक परिवारका तर्फबाट हाल काठमाडौं निवासी छोरी कल्पना पराजुली र हाल अमेरिका निवासी छोरी सम्झना पराजुलीले सोमबार १ लाख २६ हजार नगद विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

‘यस उत्कृष्ट कार्यबाट छात्रवृत्ति कोष आधुनिक राष्ट्रिय माविमा प्रारम्भ गर्न महत्वपूर्ण सहयोग पुगेको छ,’ चेक ग्रहण गर्दै माविका प्रअ रामसागर गुरागाईंले भने । छात्रवृत्ति कोषमा सहयोग गर्न चाहने महानुभावहरुलाई उनले हार्दिक आह्वान गरेका छन् ।

हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहम्मद समिम, विद्यालयका पूर्वशिक्षक रोशन पराजुलीलगायत शिक्षकहरुको उपस्थिति थियो । उक्त विद्यालयसहित वडाका विद्यालय सुधारमा वडा अध्यक्ष सिग्देलको भूमिका निकै महत्वपूणर् छ । छात्रवृत्तिका लागि अब कार्यविधि बनाइने वडा अध्यक्ष सिग्देलले बताए ।

उक्त विद्यालय लगातार चौध पटक एसएलसी÷एसईई परीक्षामा जिल्ला प्रथम भएको छ । पढाइ गुणस्तर र विद्यार्थी अनुशासित भएपछि विद्यार्थी खोज्न कतै जानुपर्दैन भन्ने उदाहरण उक्त विद्यालय बनेको छ । जिल्लाको शैक्षिक नेतृत्व नै आधुनिकले लिएको छ । यसबाट सबैले सिक्दै गएका छन् ।

विद्यालयमा अनुशासन र शैक्षिक अवस्थामात्र होइन, वातावरण पनि रमणीय छ । विद्यालयका चौर हरिया रुखले ढाकेका छन् । खेलकुदलगायत अतिरिक्त क्षेत्रमा पनि स्कुल अग्रस्थानमा छ । विद्यार्थी र शिक्षकको प्राथमिक उपचार गर्न र स्वास्थ्य चेतनाका लागि प्रदेश सरकारले उक्त विद्यालयमा औषधिसहित नर्सको व्यवस्था गरिदिएको छ । उक्त विद्यालयमा करिब २ हजार ७ सय विद्यार्थी छन् ।