तत्काल प्रदेश सभा बैठक बोलाउन माओवादी बागमतीको माग

तु खबर संवाददाता
२०८१ मंसिर २५,मंगलवार १७:५०

मकवानपुर । बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले तत्काल प्रदेश सभा बैठक आह्वान गर्न माग गरेको छ ।

दलको कार्यालय हेटौंडामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै माओवादी केन्द्र प्रदेश संसदीय दलले प्रदेश सभा बैठक आह्वान गर्न माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेलले लामो समयदेखि बस्न नसकेको प्रदेश सभा बैठक बोलाउन माग गरे ।

बाढीपहिरो लगायत प्राकृतिक विपत्तीको समयमा समेत प्रदेश सरकार बेखबर बनेको आरोप लगाउँदै उनले सरकारले तुरुन्त प्रदेश सभा बैठक नबोलाए संवैधानिक प्रक्रिया अनुसार जाने चेतावनी समेत दिए ।

गत असोज १४ गतेको सवैदलिय बैठकको निर्णय कार्यान्वयन गर्न र कार्तिक २८ गते बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिं लामालाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका विषयहरु गम्भीरतापूर्वक सम्बोधन गर्न पनि प्रदेश सरकार समक्ष माग गरिएको छ ।