हेटौंडा–१६ लाई आज बालमैत्री वडा घोषणा गरिँदै

तु खबर संवाददाता
२०८१ मंसिर २७,बिहीबार १०:००

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–१६ ले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो ।

‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले जानकारी दिए ।

बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा मुल समारोहका संयोजक समेत रहेका उनले यही पुष १२ गते १६ नम्बर वडालाई बालमैत्री शासनयुक्त वडा घोषणा गर्न लागेको बताए ।

स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा अभ्यास गरी ५१ वटा सूचकहरुमध्ये ४७ वटा सूचकमा शतप्रतिशत र बाँकी सूचकमा घोषणाका लागि आवश्यक न्युनतम नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न योग्य भएको जनाइएको छ ।

१९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकामा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने क्रम बढ्दो छ ।