बागमती प्रदेशः आगामी आवको योजना तर्जुमा प्रकृया सुरु
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि योजना तर्जुमा प्रकृया सुरु गरेको छ । प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशले पालिकास्तरबाटै योजना तर्जुमा प्रक्रिया सुरु गरेको हो ।
आयोगले स्थानीय तहको प्राथमिकताका योजना आगामी आवको योजनामा समेट्ने गरी तयारी थालेको हो । आयोगले पालिकास्तरबाटै योजना छनोटका क्रममा प्रदेशका चार स्थानमा आव २०८२–०८३ को जिल्लास्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न गरिसकेको छ ।
आयोगका अनुसार, गोष्ठीमा प्रदेश सभाका सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, नगरपालिका प्रमुख र उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, विभिन्न विषयगत कार्यालयका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
गोष्ठीमा जिल्ला समन्वय समिति र स्थानीय तहका प्रतिनिधिले प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गर्नुपर्ने विषय प्रस्तुत गरेका थिए ।
स्थानीय तह र प्रदेश सरकारका आम्दानीको स्रोतको दायरा बढाउने र नागरिकलाई उत्पादनसँग जोड्ने गरी आगामी आवको नीति तथा कार्यक्रम र बजेट ल्याउन जोड दिएका जनाइएको छ ।