रानी सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा सम्पन्न

तु खबर संवाददाता
२०८१ मंसिर ३०,आईतवार १०:०२

मकवानपुर । हेटौंडा–६ चौघडास्थित रानी सामुदायिक वन उपभोक्ता समूहको २८ औं साधारण सभा सम्पन्न भएको छ । भेला शनिबार बागमती प्रदेश सभा सदस्य भारती पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा समूहका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष न्यौपानेद्धारा प्रस्तुत प्रतिवेदनमा समूहले गत आर्थिक वर्षमा सम्पन्न गरेका कार्यहरु र यस आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएका कार्यक्रम तथा बजेटका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा वन समूहकी सचिव नानीमैया रुम्बाले प्रगति प्रतिवेदन प्रस्तूत गरेका थिए । वन समूहले गत आर्थिक वर्षमा १३ वटा लोपोन्मुख एवम् संरक्षित सूचीमा रहेका शालक उद्धार गरेको समूहकी सचिव रुम्बाले जानकारी दिए ।

साधारण सभामा समूहकी कोषाध्यक्ष गोमा लामिछानेले चालु आर्थिक वर्षका लागि प्रस्तावित अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेकी थिइन् भने लेखा समिति संयोजक श्याम कुमार श्रेष्ठले लेखा समितिको प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।

विगतका वर्ष झै यस वर्ष पनि वन समूहले विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरेको छ । सम्मानित हुनेहरुमा निवर्तमान अध्यक्ष कृष्ण विडारी, ज्येष्ठ उपभोक्ता हिरामाया गौतम र तिलक बहादुर खड्का, वन प्राविधिक दिपक अधिकारी रहेका छन् ।

यस्तै, सञ्चारकर्मीतर्फ भावना रिजाल लगायत यस वन समूहको क्षेत्र भित्र पर्ने विद्यालयबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, साधारण सभामा धेरै उपभोक्ता उपस्थित गराउने व्यक्ति, सालक संरक्षणमा सहयोग गर्ने व्यक्ति, सेवा निवृत्त कर्मचारी, समूहलाई सहयोग गर्ने संस्था र कर्मचारीलाई समेत सम्मान प्रदान गरिएको कार्यालय सचिव भिमसेन पौडेलले जानकारी दिए ।

कार्यक्रममा हेटौंडा–६ का वडाध्यक्ष विष्णुबहादुर दाहाल, मकवानपुरगढी–३ का वडा अध्यक्ष ४ का वडा अध्यक्ष, हेटौंडा–६ का वडा सदस्यहरु, लगायत विभिन्न वन उपभोक्ता समूह, सहकारी संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।