‘नेवारी संस्कृतिले विश्वमा पहिचान दिएको छ’

तु खबर संवाददाता
२०८१ मंसिर ३०,आईतवार १६:०७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेवारी संस्कृतिले विश्वमा पहिचान दिएको बताएका छन् ।

ज्यापु संस्कृति विकास कोषद्वारा आइतबार वसन्तपुरमा आयोजित २१ औँ राष्ट्रिय ज्यापु दिवसको समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालका सबै संस्कृतिभन्दा नेवारी संस्कृति इतिहास, निरन्तरता र मौलिक संस्कृति भएको संस्कृति भएको उल्लेख गरे ।

साथै उनले राज्य कोषमा धेरै रकम नभए पनि ज्यापु दिवस मनाउन नेपाल सरकार, मन्त्रिपरिषदबाट १० लाख सहयोगको निर्णय गरेको जानकारी दिँदै ज्यापु गुठीका लागि अक्षयकोषमा सक्दो रकम वृद्धि गर्ने दृढता व्यक्त गरे ।

आफ्नो मर्यादित संस्कृति र परम्परालाई निरन्तरता दिएकामा धन्यवाद दिँदै धार्मिक र सांस्कृतिक सम्पदालाई प्रोत्साहन गर्न सरकार तत्पर रहेको उनको भनाई छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न पुरस्कार तथा सम्मान वितरणका साथै वार्षिक जात्रासम्बन्धी डिजिटल सामग्री र पुस्तक विमोचन समेत गरेका थिए ।