पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका
काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको अध्यक्षमा टेनिस रोका (टेकबहादुर रोका) विजयी भएका छन् ।
उपत्यका प्रदेश निर्वाचन समितिले शुक्रबार सम्पन्न मतदानको अन्तिम परिणाम आइतबार दिउँसो सार्वजनिक गरेको हो ।
महासंघको उपत्यका प्रदेश अन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला शाखाका मतदाताले मतदान गरेर उनलाई अधयक्षमा विजयी गराएका हुन् ।
रोकाले ६४८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी मोहनप्रसाद पन्तले ४१० मत पाए । अध्यक्षका अर्का उम्मेदवार शिव बस्नेतले ९३ मत प्राप्त गरे ।
यस्तै, उपत्यका प्रदेशको उपाध्यक्षमा रोजिना थापा (६८३ मत), उपाध्यक्ष महिलातर्फ रमा न्यौपाने (६८८ मत), महासचिव पदमा आशिष गुरागाईं (५६७ मत), सचिव पदमा अजिता अधिकारी (६३१ मत), समावेशी सचिवतर्फ प्रविण श्रेष्ठ (६१९ मत) र कोषाध्यक्षमा सन्जिप घिमिरे (४७७ मत) निर्वाचित भएका छन् ।
यसैगरी, खुला ६ जना सदस्यमा घनश्याम अधिकारी (वैरागी जेठा), चन्द्रजित मोक्तान, भिमराज खड्का, रनसुर महतारा, रामशरण काफ्ले र रोशन क्षेत्री निर्वाचित भएका छन् । महिला तीन जना सदस्यमा उमा शर्मा, विष्णुकुमारी पौडेल र रमिला पोखरेल (योञ्जन) निर्विरोध निर्वाचित भएका छन् ।
दलित सदस्यतर्फ लिलामाया नेपाली, जनजाती सदस्यमा शैलेस डंगोल र सुरेश सायजु विजयी भएका छन् । मधेशी र अल्पसंख्याक सदस्यमा क्रमश प्रदिप मण्डल र भक्ति शाह निर्विरोध निर्वाचित भएका छन् ।