१ सय २६ किलो गाँजासहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८१ पुष १,सोमबार १५:५४

काठमाडौं । प्रहरीले अवैध लागूऔषध गाँजासहित देशको छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी र चितवन जिल्लाको विभिन्न स्थानबाट १ सय २६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–१७ बाट अवैध लागूऔषध गाँजा करिब १ सय २३ किलो ३ सय ९० ग्रामसहित गएराति एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ बस्ने ३१ वर्षीय धन बहादुर भण्डारी रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट रेल्वे धरानबाट खटिएको प्रहरीले प्रदेश १–०२–००२ ह १६५५ नम्बरको अटोलाई जाँच गर्ने क्रममा ७ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक धन बहादुरलाई पक्राउ गरेको हो ।

यस्तै, चितवनको रत्ननगर नगरपालिका–१० निपनी चोकबाट अवैध लागूऔषध गाँजा २ किलो ८ सय ६४ ग्रामसहित आइतबार साँझ एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४६ वर्षीय सरद लम्साल रहेका छन् ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।