चितवनलाई वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी

तु खबर संवाददाता
२०८१ पुष १,सोमबार १६:०७

चितवन । चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रूपमा घोषणा गर्ने तयारी गरिएको छ ।

यही पुस ११ गतेदेखि सुरू हुने १८ औँ हात्ती तथा पर्यटन महोत्सव २०८१ को अवसरमा चितवनलाई रवन्यजन्तुको राजधानी घोषणा गर्ने तयारी गरेको क्षेत्रीय होटल संघ सौराहाले जनाएको छ ।

त्यसका लागि रत्ननगर नगरपालिका र बागमती प्रदेश सरकारसँगको छलफल तथा समन्वय भइरहेको महोत्सवका संयोजक रामकुमार अर्यालले जानकारी दिए ।

उनका अनुसार महोत्सवको उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा घोषणा गर्ने कार्यक्रम रहेको छ ।

महोत्सवको बारेमा जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा संयोजक अर्यालले गत वर्षमा भएका हात्तीदौड तथा हात्तीका छावाको फुटबल प्रतियोगिता यस वर्ष हटाइएको बताए ।

यस्तै, यस वर्ष हात्तीको शङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्ती मैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण कार्यक्रम, पालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीसँग ‘विटुबी’ गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तरक्रिया कार्यक्रमको आयोजन ागर्ने जनाइएको छ ।

यस महोत्सवमा ८० वटा हात्तीलाई सहभागी गराइने आयोजकले जनाएको छ ।