हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी सडकखण्डमा सवारी संचालनमा रोक
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्डमा सवारीसाधन संचालनमा रोक लगाइएको छ ।
हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको उक्त सडकखण्डमा आजबाट पुष ११ गतेसम्म सवारी संचालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, दक्षिणकाली–छैमले खण्ड कालोपत्रे गर्ने भएकोले उक्त सडकखण्डमा सवारी संचालनमा रोक लगाइएको हो ।
यस्तै, सडक स्तरोन्नतीको लागि कुलेखानी–फाखेल–मातातिर्थ सडकमा पनि यातायात संचालनमा रोक गराइएको छ ।
सो सडक बन्द हुँदा सवारी साधनलाई वैकल्पिक मार्ग हेटौंडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड, त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडकखण्डमा भने हाल सवारीसाधन संचालन भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।