हेटौंडाका दुई विद्यालय एकीकरण सम्बन्धी प्रकृया अगाडि बढ्यो
मकवानपुर । हेटौंडाका दुई ठुला विद्यालय एकीकरण सम्बन्धी विषयमा आवश्यक प्रकृया अगाडि बढाइएको छ ।
केहि समय अघिदेखि चर्चामा रहेको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा अवस्थित श्री भुटनदेवी मावि र आधुनिक राष्ट्रिय माविलाई एकीकरण गरी मेगा विद्यालय बनाउने प्रकृया अगाडि बढेको हो ।
दुबै विद्यालयको व्यवस्थापन समितिको निर्णय र वडा कार्यालयको सिफारिससहित वडा अध्यक्ष नवीन सिग्देल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक सहितको समुहले मंगलबार नगर प्रमुख मिनाकुमारी लामासमक्ष आवश्यक पत्र पेश गरेका छन् ।
शिक्षा मन्त्रालयले ‘बिग स्कुल’ को अवधारणामा छलफल चलाउन थालेपछि हेटौंडाका यी दुई ठुला विद्यालयलाई एकीकृत गर्ने विषयमा छलफल सुरु भएको थियो ।
आधुनिक माविमा करिब २ हजार ८ सय बालबालिका अध्यरत छन् भने भुटनदेवी माविमा २ हजार २ सय बालबालिका अध्ययनरत छन् । जसअनुसार यी विद्यालय एकीकृत हुँदा ५ हजार विद्यार्थी हुनेछन् ।