जिसस मकवानपुरको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तु खबर संवाददाता
२०८१ पुष ४,बिहीबार ०९:१५

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बुधबार बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सो क्रममा प्रमुख अतिथि देवकोटाले संविधानसंग मेल नखाएका प्रदेशका कानुनहरुलाई संशोधन गर्नुपर्ने बताए । उनले प्रदेशबासीको हित नहुने कानुन बनाउनुको कुनै अर्थ नहुने भन्दै सम्बन्धित निकायको परामर्शमा संविधानसँग बाझिएका ऐन कानुनहरुलाई परिवर्तन गर्नुपर्ने बताए ।

समीक्षा कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा मकवानपुरका १० वटा स्थानीय तहसहित २३ वटा निकायले प्रस्तुती करण राखेका थिए ।

सो अवसरमा मकवानपुरमा रहेर विभिन्न क्षेत्रमा गरेको योगदानको कदर गर्दै १३ बिधाका २४ जनालाई सम्मान गरिएको थियो । पत्रकारीतातर्फ भावना रिजाल तथा गणेश दर्पण अधिकारीलाई सम्मान गरिएको थियो ।

यसैगरी हालै सम्पन्न पत्रकार महासंघ जिल्ला प्रदेश तथा केन्द्रको निर्वाचनमा मकवानपुर जिल्लाबाट नेतृत्व गरेका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान तथा बधाइ कार्यक्रम समेत गरिएको छ ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा पूर्व मन्त्रीहरु कुमारी मोक्तान, एकालाल श्रेष्ठ तथा पूर्व सांसद प्रेम बहादुर पुलामीलगायतको आतिथ्यता रहेको थियो ।