एकैदिन पाँच संसदीय समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०८१ पुष ४,बिहीबार ०९:३४
file-photo

काठमाडौं । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

जसअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा सिइडिएडब्ल्युको आधारभूत सिफारिस नं.३९ सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

आज बिहान साढे ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ । बैठकमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवसायको आवश्यकता सम्बन्धमा सङ्कल्प प्रस्ताव कार्यान्वयन अनुगमन उपसमितिबाट समिति समक्ष पेस भएको प्रतिवेदन उपर छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुनेछ । बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ । बैठकमा स्थलगत अनुगमन प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।