पहिलो पटक एचपिभी खोप ल्याइयो
काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप ल्याएको छ । सरकारले एचपिभी अभियानका लागि पहिलो पटक खोप ल्याएको हो ।
आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म संचालन हुने उक्त अभियानका लागि चार लाख ६० हजार ९४० मात्रा खोप नेपाल ल्याएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।
उनले खोप आएको पुष्टि गर्दै यस पटकको एचपिभी खोप अभियानमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीले निःशुल्क खोप पाउने बताए । उनले विद्यालयमा समेत खोप अभियान संचालन हुने जानकारी गराए ।
ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्रान्डको खोप नेपाल ल्याइएको हो ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाका भ्याक्सिन तथा कोल्डचेन एकाइ प्रमुख सञ्जीव कट्टेलले एचपिभी खोप अभियानका लागि कुल १७ लाख ७० हजार २० भाइल खोप आउने जानकारी दिए ।
बाँकी खोप आगामी १० जनवरीभित्र आइसक्ने उनको भनाई छ । एचपिभी खोपलाई प्रदेशस्थित आपूर्ति केन्द्रहरूमा पठाइने उनले बताए । उनका अनुसार, १८ हजार ९०० वटा विद्यालयलाई यो खोपका लागि केन्द्र तोकिएको छ । विद्यालयबाहेकका स्वास्थ्य संस्थामा पनि खोप अभियान संचालन हुनेछ ।
उक्त खोप अभियानमा २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १६० जना स्वास्थ्य स्वयंसेवक, १५ हजार ६७४ जना सुपरीवेक्षक परिचालन गरिनेछ ।