सामाजिक अपराधजन्य घटनामा वृद्धि
काठमाडौं । पछिल्लो समय सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको पाइएको छ । नेपाल प्रहरीको चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकको तथ्याङ्क अनुसार सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको पाइएको हो ।
चालु आवको साउनदेखि कात्तिक मसान्तसम्मको मुद्दा दर्ता विवरण सार्वजनिक गर्दै नेपाल प्रहरीले दैनिक औैसतमा १६२ वटा मुद्दा दर्ता हुने गरेको जनाएको छ ।
जसअनुसार, आत्महत्याका दैनिक २० वटा घटना र जबरजस्ती करणीका दैनिक सात वटा मुद्दा दर्ता हुने गरेको प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
कर्तव्य ज्यानमा गत वर्षको यो अवधीमा १९३ मुद्दा दर्ता भएकोमा यस वर्ष १९२ मुद्दा दर्ता भएको छ भने जबरजस्ती करणीमा कात्तिक मसान्तसम्म ८२३ वटा मुद्दाहरु दर्ता भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ८०९ वटा मुद्दाहरु दर्ता भएको प्रहरीले जनाएको छ ।
यस्तै, जबरजस्ती करणीको उद्योगमा गत आर्थिक वर्षको पहिलो चार महिनामा १६३ मुद्दाहरु दर्ता भएकोमा यस वर्षको सोही अवधिमा बढेर १८६ वटा, सङ्गठिक अपराधमा गत वर्ष पाँच वटा मुद्दा परेकोमा यस वर्ष ३९ मुद्दा दर्ता, लागूऔषधसम्बन्धी मुद्दाहरु गत आर्थिक वर्षको पहिलो चौमासिकमा एक हजार ३६९ रहेकोमा अहिले बढेर एक हजार ६१९ पुगेको छ ।