हेटौंडा औद्योगिक क्षेत्रमा १२ वटा उद्योग निर्माणाधीन अवस्थामा
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ मा अवस्थित हेटौंडा औद्योगिक क्षेत्रमा हाल १२ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेको छ ।
उक्त औद्योगिक क्षेत्रमा अहिले बहुराष्ट्रिय कम्पनीसहित १२ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेको औद्योगिक क्षेत्रका वरिष्ठ अधिकृत रमेशकुमार नेपालले जानकारी दिए । उनका अनुसार, ती उद्योगहरु अगामी २ वर्षभित्र निर्माण सम्पन्न गरी उत्पादन कार्य सुरु गर्ने लक्ष्य रहेको छ ।
सो औद्योगिक क्षेत्रमा स्वदेशी र बहुराष्ट्रिय कम्पनीसमेत गरी हाल दैनिक एक सय २७ वटा विभिन्न प्रकारका उद्योगहरू सचालनमा छन् । उक्त क्षेत्रमा स्थापना भएका प्रमुख उद्योगहरूमध्ये खाद्य उद्योग प्रालि, युनाइटेड ब्रुअरी प्रालि, नेपाल बिस्कुट कम्पनी, नेपाल साबुन उद्योग, पशुको आहार उत्पादन प्रशोधन उद्योग, नेपालपोल उत्पादन प्रालि र काष्ठ फर्निचरलगायत रहेका छन् ।
यसैगरी, उक्त औद्योगिक क्षेत्रमा गोरखालारी चुरोट उद्योग प्रालि, हेटौँडा दुग्ध वितरण आयोजना, नेपाल चियापत्ती उद्योग प्रालि, नेपाल खाने तेल उत्पादन उद्योग, नेपाल कार्टुन उद्योग प्रालि र नेपाल बोट्लर्स उद्योग प्रालि र नेपाल मदिरा उत्पादन उद्योग प्रालिसमेत रहेका छन् ।
यस क्षेत्रमा विगत दुई दशकअघि स्थापना भएका पुराना ६ वटा उद्योग आर्थिक सङ्कटका साथै कच्चापदार्थको अभावमा बन्द हुन पुगेको औद्योगिक क्षेत्रका वरिष्ठ अधिकृत नेपालले बताए ।
उनका अनुसार, बन्द रहेका उद्योगहरुमा क्रमशः हाल नेपाल सेन्थेटिक कपडा उद्योग, नेपाल छाला उद्योग प्रालि, नेपाल लाइभस्टक प्रालि, नेपाल वनस्पति घ्यू, नेपाल पोलिथिन प्लाष्टिक प्रालि र नेपाल दाना उद्योग प्रालि रहेका छन् ।
साथै नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौंडा कपडा उद्योग पनि विसं २०५८ देखि बन्द नै छ ।
औद्योगिक क्षेत्रमा हाल संचालनमा रहेका विभिन्न उद्योगबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १५ हजार व्यक्तिले रोजगारीको अवसर पाएका छन् ।