वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । काठमाडौंबाट वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धनुषा गणेशमान चारधाम नगरपालिका–४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने ३८ वर्षीय राज कुमार चौधरी र धनुषा मटिहानी नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–९ गौशाला बस्ने ३९ वर्षीय रूपेश कुमार चौधरी रहेका छन् ।
पक्राउ परेकामध्ये राज कुमारले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ३० हजार रूपैयाँ र रूपेश कुमारले सिंगापुर पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भनी पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए ।
सोही उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौं काँडाघारीबाट मंगलबार र रूपेश कुमारलाई काठमाडौं टेकुबाट बुधबार पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।