ख्रीष्टमसको अवसरमा शुभकामना तथा क्यारोल कार्यक्रम

तु खबर संवाददाता
२०८१ पुष ६,शनिबार ०९:०४

मकवानपुर । हेटौंडा–१, पानसुके चोकमा ख्रीष्टमसको अवसरमा शुभकामना तथा क्यारोल कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार हेटौंडा ख्रीष्टियन चर्चका डिकन विकास सुनारको आयोजनामा पानसुके चोकमा ख्रीष्टमस शुभकामना तथा क्यारोल कार्यक्रम भएको हो ।

कार्यक्रम हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा ख्रीष्टमसको शुभकामना दिँदै प्रमुख अतिथि लामाले ख्रीष्टियनहरुको महान् चार्ड ख्रीष्टमस सभ्यढंगले मनाउन आग्रह गरेकी थिइन् ।

यस्तै, हेटौंडा–१ का वडाध्यक्ष सबिन न्यौपानेले ख्रीष्टमस शुभकामना दिदै नेपाल धर्मनिरपेक्ष र संघीय लोकतान्त्रिक गणतन्त्र भएको स्मरण गराए ।
सबै धर्मावलम्बीको आफ्नै परम्परा रहेको र कतिपय पर्व भड्किलो हुने गरेको बताउँदै उनले सभ्यढंगले ख्रीष्टमस मनाउन आग्रह गरे ।

कार्यक्रममा हेटौंडा ख्रीष्टियन चर्चका पास्टर दिलबहादुर लामाले पवित्र धर्मशास्त्र बाइबलबाट ख्रीष्टमस किन मनाइन्छ भन्नेसम्बन्धि प्रवचन दिएका थिए ।

कार्यक्रममा ख्रीष्टमससम्बन्धि विभिन्न भजनहरु गाउँदै ख्रीष्टमसको शुभकामना आदानप्रदान गरेका थिए । केही युवाले ख्रीष्टमस सम्बन्धि विभिन्न गीत गाउँदै नाचगान गरी रमाइलो गरेका थिए ।

कार्यक्रममा हटिया ख्रीष्टियन चर्चका पास्टर दिलिप थापा, हेटौंडा ख्रीष्टियन चर्चका एल्डर पवन न्यौपाने, रमेश मैनालीलगायत विभिन्न चर्चका अग्रज व्यक्तिहरुको उपस्थिति थियो ।