‘हेटौंडा जेसीजको नेतृत्व सम्हाल्न सक्षम छु’
सन् १९७८ मा स्थापित भई मकवानपुरका युवाहरुको नेतृत्व एवम् व्यक्तित्व विकास र समग्र समाजको हितका सन्दर्भमा हेटौंडा जेसीजले महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । विधिको शासन, बन्धुत्वको भावनालाई आत्मसाथ गर्दै अघि बढेको जेसीजले समाजमा बेग्लै पहिचान स्थापित गराएको छ । सकारात्मक परिवर्तनको लागि युवा नेतृत्व, मानवीय हितलगायतका विभिन्न कार्यक्रम लिएर जेसीजले व्यक्तिगत, समुदायिक व्यावसायिक र अन्तर्राष्ट्रिय गरी ४ क्षेत्रमा जनस्तरसम्म पुगेर काम गरिरहेको छ ।
हेटौंडा जेसीज वर्ष सन् २०२४ का महासचिव पंकजदास बानिया सन् २०१५ मा जेसीजमा आवद्ध भएका हुन् । बुवा दिपकलाल दास र आमा शान्तिदेवी बानियाको कोखबाट हेटौंडा ४ मा जन्मिएका पंकज बाल्यकालदेखि नै सामाजिक सेवामा रुची राख्थे । अंकल राजदेब बानियाको प्रेरणाबाट जेसीज जीवनमा होमिएका उनले यहाँसम्म आइपुग्दा संगालेका अनुभवहरुलाई निकै महत्वका साथ लिएका छन् ।
उनी जेसीजलाई व्यक्तित्व, नेतृत्वसँगै क्षमता विकास गर्ने विश्वविद्यालयका रुपमा लिन्छन् । उनले २०१५ देखिनै जेसीजले आयोजना गर्ने विभिन्न कार्यक्रममा कार्यक्रम संयोजक भएर अनुभव संगाले । २०१९ सम्म विभिन्न जिम्मेवारीमा रहेर जेसीजलाई बुझिरहे, सेवा गरिरहे । २०२० मा सचिव, २०२१ मा कार्यकारिणी उपाध्यक्ष, २०२२ मा कानूनी सल्लाहकारको जिम्मेवारी पूरा गरेका बानियाले जेसीजमा आफ्नो बेग्लै पहिचान स्थापित गराउन सफल भए । २०२३ मा सदस्यकै रुपमा रहेर काम गरे । २०२४ मा महासचिवको जिम्मेवारीमा रहेर कार्यकुशलता प्रदर्शन गरेका उनी सबैको साथ सहयोग पाए २०२५ को नेतृत्व गर्न आफु सक्षम रहेको बताउँछन् ।
उनै बानियासँग २०२४ मा जेसीजले गरेका काम, नजिकिँदै गरेको अधिवेशनको तयारीलगायतका विषयमा तु खबरले केही जिज्ञासा राखेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अँश ।
सवालः वर्ष सन् २०२४ मा जेसीजको संस्थागत विकासको सन्दर्भमा के कति काम भए ?
जवाफः धन्यवाद, हेटौंडा जेसीजका वर्तमान अध्यक्ष आदरणीय अध्यक्ष विकेशलाल श्रेष्ठज्यूको नेतृत्वमा हाम्रो टिमले संस्थागत विकासका सन्दर्भमा उल्लेख्य काम गरेको छ ।
भवन संरचनाको मर्मत तथा पुनःनिर्माण, सचिवालय व्यवस्थापन, हल व्यवस्थापन, जेसीजका सामाजिक उत्तरदायित्वलाई अझै प्रभावकारी, परिस्कृत बनाउने कार्य भएका छन् । कोष बलियो बनाउने प्रयास भएको छ । जेसीजका कार्यहरु समाजमा पुर्याइरहेका छौँ । जेसीजलाई धनीहरुको संस्था भन्ने सामाजमा जुन बुझाई थियो, त्यसलाई मिथ्या सावित गराएर जेसीज हुनेखानेहरुको मात्रै होइन, हुँदा खानेहरुको पनि हो भन्ने भास्य निर्माण गर्न प्रयासरत छौँ । यो धनीहरुको मात्रै संस्था होइन, धनी हुन चाहनेहरुको पनि संस्था हो ।
यहाँ आवद्ध भएपछि नेतृत्व, व्यक्तित्वको विकास हुन्छ । हामीले आयोजना गरेका थुप्रै सिपमुलक तालिममा सहभागी भएर हाम्रा साथीहरु रोजगार बन्नुभएको छ । त्यसकारण जेसीज संस्थागत विकास र आफ्ना सदस्यहरुको मात्रै नभई सिंगो समाजको हितका लागि सदैव क्रियाशील छ ।
सवालः तपाईँले अन्य संघसंस्थामा बसेर पनि काम गर्नुभएको छ । यहाँसम्म आइपुग्दा जेसीजलाई कसरी बुझ्नुभयो त ? अन्य संस्था र जेसीजमा के फरक पाउनुभयो ?
जवाफः जेसीजलाई अझै पनि एनजीओ÷आइएनजीओ भनेर बुझ्ने गरिन्छ । तर, वास्तवमा जेसीज युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने साझा संस्था हो । आफुमा निखार ल्याउने यो अवसर हो । दूर दराजमा पुगेर गरिने सेवा हो । जेसीज धनीहरुको मात्रै होइन, भुईँमान्ँछेहरुको पनि साथी हो । जेसीज सञ्जाल हो । अन्य संस्थाहरु र जेसीजमा थुप्रै भिन्नता छ । बैठक प्रणाली अत्यन्तै व्यवस्थित हुन्छ । समाजमा रहेका संघसंस्थामा नेतृत्व गर्न र नेतृत्वको प्रभाव छाड्न सिकिन्छ । हाम्रा मुख्य गतिविधि सामाजिक सेवामा आधारित हुन्छ ।
सवालः सामाजिक सेवाको कुरा गर्नुभयो, यसपाली सेवामा आधारित के के काम भए त ?
जवाफः तपाईँहरुले नजिकैबाट नियालीरहनुभएकै छ । हामीले क्रिकेट प्रतियोगिताको आयोजना गर्यौँ । जेसीज सप्ताह अन्तरगत रक्तदान, खेल प्रतियोगिता, लागूपदार्थ दूव्र्यशनी विरुद्धको सचेतना कार्यक्रम, वतृत्वकला प्रतियोगिता आदि सम्पन्न गर्यौँ । केही दिन अघि मात्रै बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर ग्रामिण भेगका जनतालाई घर दैलोमै पुगेर सेवा दियौँ । आर्थिक रुपले विपन्न बालबालिकाहरुलाई न्यानो कपडा, शैक्षिक सामग्री वितरण गर्यौँ साथै अन्य क्षेत्रसँग सामाजिक सेवाको लागि सहयोग/समन्वय पनि गर्दै आएका छौँ ।
सवालः जेसीज र अन्य क्षेत्रबीच सहयोग –समन्वयको अवस्था कस्तो रह्यो ?
जवाफः सबैको सहयोग सन्तोषजनक नै रह्यो । स्थानीय सरकारको रुपमा रहेको हेटौंडा उपमहानगरपालिका, स्थानीय प्रहरी, सञ्चार क्षेत्र, नागरिक समाज, टोल विकास संस्थाहरु मात्रै नभई आम हेटौंडाबासीको सहयोग हामीलाई रह्यो । सबैको साझा प्रयासबाट धेरै काम गर्न सफल भइयो । धेरै धेरै आभारी छु ।
सवालः जेसीजको अधिवेशन नजिकिँदै छ । नयाँ नेतृत्व चयन गर्नुपर्ने छ । नेतृत्वको लागि चाहाना गरिरहँदा तपाईँका योजनाहरु चाँही के–के छन् त ?
जवाफः हजुर, अधिवेशनको तयारी हामीले गरिरहेका छौँ । यहाँले भनेजस्तै नेतृत्व चयन गर्नुपर्ने छ । अब मेरो सन्दर्भमा भन्ने हो भने मैलै विगत ३ वर्षदेखि अध्यक्ष बन्न चाहाना राखेको हुँ । अग्रजहरुलाई अगाडि बढाउँदै आफुले पालो कुरिरहेको छु । यो वर्ष चाँही सबैले तपाईँले धेरै पटक अरुलाई साथ दिनुभयो । एसपटक चाँही तपाईँ आउनुस भन्नुभएको छ । जेसीज जीवनमा लागेको १० औँ वर्ष भयो । जेसीजको नेतृत्व कुसलतापूर्वक सम्हाल्न सक्छु भन्ने आत्मविश्वास जागृत भएको छ । त्यसकारण यसपटक हेटौंडा जेसीजको नेतृत्व गर्न इच्छुक छु । सबैको सहयोगको अपेक्षा पनि गरेको छु ।
सवालः लोकतान्त्रिक प्रक्रियालाई अवलम्वन गर्नु सकारात्मक पक्ष नै हो । तर, सहमति बाटै नेतृत्व चयन गर्ने प्रयास चाँही भएको छैन ?
जवाफः २०२२ र २०२३ मा हामीले गरेका पनि हौं । तर, नेतृत्व व्यक्तित्व गरेर संस्थाको मुल नेतृत्वमा आउन साथीहरुले खोज्नु नै जेसीजको सकारात्म पक्ष हो । सहमति जुटाउन सके निकै राम्रो हुन्थ्यो । तर, प्रतिस्पर्धा भयो भने पनि त्यसलाई नराम्रो मान्न हुँदैन । अगाडि बढ्नको लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । परिक्षा दिएपछि प्राप्त हुने नतिजाले आफ्नो क्षमता एकीन गर्न सकिन्छ । स्वस्थ प्रतिस्पर्धाले हाम्रो बन्धुत्वको भावनामा कमि आउँदैन । चिर्वाचनको दिन हासेर प्रतिस्पर्धा गर्छौँ । नतिजा आउनासाथ एकअर्कामा हातेमालो गरेर हामी अघि बढ्छौँ ।
म नेतृत्वमा पुगेपछि आन्तरिक पर्यटन प्रर्वद्धनका लागि डटेर काम गर्छु । त्यसका लागि जेसीजले मासिक रुपमा विभिन्न कार्यक्रम आयोजना गर्नेछ । वातावरण संरक्षणको लागि वृक्षारोपण, जलवायु परिवर्तन रोक्ने खालका कार्यक्रमहरु गरिनेछ । जेसीज सदस्यहरुका लागि सिपमुलक तालिमका कार्यक्रममा बृद्धि गर्नेछु । संस्थागत विकासमा केन्द्रीत हुनेछु । सामाजिक सेवाका हाम्रा नियमित कामलाई अझै प्रभावकारी बनाउने छु ।
स्थानीय सरकार र अन्य क्षेत्रको सहयोग सन्तोषजनक नै छ । अझै सहयोग प्राप्त हुने वातावरण बनाएर दूरदराजसम्म पुगेर भईँमान्छेहरुको सेवामा जेसीजलाई क्रियाशील बनाउने छु ।
सवालः अन्तरवार्ताको अन्त्यमा छौँ, थप केही भन्न चाहानुहुन्छ ?
जवाफः जेसीज सामाजिक सेवामा होमिएको संस्था हो । यो सबैको साझा अभियान हो । यो धनीहरुको मात्रै संस्था होइन, मासिक १०, १२ हजार कमाउने व्यक्तिहरु पनि यहाँ सदस्य हुनुहुन्छ । पैसा भएर मात्रै जेसीसको अध्यक्ष बन्नुपर्छ भन्ने कुरा सत्य होइन । त्यसकारण जेसीजमा आवद्ध हुन चाहाने आदरणीय सम्पूर्ण व्यक्तिहरुमा म निर्धक्क भएर यो साझा अभियानमा जोडिन आग्रह गर्दछु ।
वर्ष २०२५ को नेतृत्वको अभियानमा छु । मतदाता साथीहरुको साथ सहयोग र सुझावको अपेक्षा गरेको छु । नेतृत्व गर्ने अवसर पाएँ भने हेटौंडा जेसीजलाई नमूना जेसीजको रुपमा स्थापित गराउने प्रतिवद्धता पनि व्यक्त गर्दछु । मेरो कुरा तपाईँको लोकप्रीय सञ्चार माध्ययममा राख्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद ।