चुरियामाई सुरुङ आजबाट सर्वसाधारणका लागि खुल्दै
मकवानपुर । चुरियामाई सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि खुल्ने भएको छ । यसर्थ दक्षिण एसियाकै पहिलो भनिएको उक्त सुरुङमार्ग आजबाट सर्वसाधारणले अवलोकन गर्न पाउने भएको हो ।
जीर्णोद्धारको लामो पर्खाइपछि बागमती प्रदेश सरकारले आज एक औपचारिक कार्यक्रममार्फत् हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्दैछ । सो सुरुङ मकवानपुरको हेटौंडा–१५ नम्वर वडामा अवस्थित चुरियामाई मन्दिरसँगै रहेको छ ।
प्रदेश सरकार अन्तर्गतको प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले सुरुङ पुनः निर्माण गरेपनि संचालनको व्यवस्थापन कसले गर्ने भन्ने अन्योल भइरहेको थियो । समयमै कार्यविधि नबन्दा र संचालनको लागि तदारुकता नदेखाउँदा सुरुङमार्ग जीर्णोद्धार भएको ८ महिनापछि खुल्न लागेको प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्करराज पोखरेलले बताए ।
उनका अनुसार, अहिले हेटौंडा उपमहानगरपालिकाले सुरुङमार्गको व्यवस्थापन र सञ्चालन गर्ने सहमति भएपछि सर्वसाधारणका लागि खुला गर्न लागिएको हो ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले सुरुङमार्ग अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५०, विदेशीलाई प्रतिव्यक्ति १२०, विद्यार्थीलाई प्रतिव्यक्ति २०, र ५ वर्ष मुनिका बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क गरिने जानकारी दिइन् ।
२०७९ साल वैशाख १९ गते जीर्णोद्धार सम्पन्न गर्ने गरी काम सुरु भएको १९८ मिटर लम्बाइको सुरुङ मार्गको पुनः निर्माणको काम सम्पन्न हुँदासम्म करिब २२५ मिटर पुगेको जनाइएको छ ।