नक्कली बुवा बनेर बहुविवाह गराउने एक जना पक्राउ
धनगढी । नक्कली बुवा बनेर बहुविवाह गराएको आरोपमा शनिबार डडेल्धुराबाट एक जना पक्राउ परेका छन् । अमेरिकी भिसाको प्रलोभन देखाएर नक्कली बिहे गरेको घटनामा कञ्चनपुर प्रहरीले थप एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–३ बस्ने ४२ वर्षीय वीरबहादुर ऐर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेका ऐर पेशाले इन्जिनियर हुन् । उनीमाथि डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद मालीको नक्कली बुवा बनेर कञ्चनपुरकी युवतीको परिवारसँग टेलिफोनमा कुुराकानी गरेर बहुविवाह गराउन भूमिका खेलेको आरोप छ ।
मालीले ३१ वर्षीया युवतीलाई झुक्याएर मंसिर २२ मा विवाह गरेका थिए । उनले आफू इन्जिनियर भएको र अमेरिकाको भिसा समेत लागिसकेको भन्दै युवतीसँग कुरा गरेका थिए । तर, पछि उनी इन्जिनियर नभएर गाडीका सहचालक भएको खुल्न आएको हो ।
कञ्चनपुरकी युवतीसँग बिहे भइसकेपछि उनको पहिले नै बिहे भइसकेको टिकटकमार्फत् खुलासा भएको जनाइएको छ । जेठी श्रीमतीको उजुरीका आधारमा कञ्चनपुर प्रहरीले मालीलाई पक्राउ गरेर बहुविवाह मुद्दा चलाएको छ ।
यो घटनामा मध्यस्थकर्ताको भूमिका खेलेको आरोपमा कञ्चनपुरको वेदकोट नगरपालिका–२ का जनकबहादुर धामीलाई पनि प्रहरीले यसअघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।