हुलाक कार्यालय प्रमुखसहित दुई जनाको हत्या

तु खबर संवाददाता
२०८१ पुष ८,सोमबार १४:३८

खोटाङ । जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुखसहित दुई जनाको भक्तपुरमा हत्या भएको छ । हुलाक कार्यालयका प्रमुख ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका छोरा २२ वर्षीय प्रबिन आचार्यको हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, भक्तपुरको बालकोटमा हत्या भएको अवस्थामा बाबु–छोराको शव फेला परेको हो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई बालकोट बस्दै आएका उनीहरु मृत अवस्थामा भेटिएका हुन् ।

कुलप्रसाद केही दिन अघि मात्र दिक्तेलबाट भक्तपुर छोराहरु भएको ठाउँमा गएको बुझिइएको छ । बाहिरबाट चाबी लगाएको अवस्थामा कोठाभित्रै सोमबार बिहान उनीहरुको शव भेटिइएको हो ।

यसैगरी, सँगै बस्दै आएका कुलप्रसादका जेठा छोरा मिलन आचार्य भने सम्पर्कविहीन रहेको र उनको खोजीकार्य भइरहेको जनाइएको छ ।