‘अध्यापनका साथै प्रविधिमैत्री र सीपको पनि जरुरी छ’
![](https://www.tukhabar.com/wp-content/uploads/2024/12/bahadur-singh-lama.jpg)
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले अहिलेको समयमा अध्यापनका साथै प्रविधिमैत्री र सीपको पनि जरुरी रहेको बताएका छन् । मुख्यमन्त्री लामाले अध्ययन र सीप एकातिर काम अर्कोतिर गर्नाले युवाहरु विदेशीनु परेको भन्दै जे पढेका छौं, जे सीप छ सोही सीप अनुसारको रोजगारी गर्नुपर्ने बताएका हुन् ।
शुक्रबार हेटौंडामा मकवानपुर बहुमुखी क्याम्पसद्धारा सञ्चालित विजनेश ईन्क्युवेसन सेन्टरको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्ने बताए । १२ कक्षासम्मको अध्ययनपछि युवाहरु विदेश जानेको लर्को लागेकोले पढाईसँगै सीप सिकेर पढ्दै काम गर्दै गर्दा युवा शक्ति विदेशीनुमा रोक्न सकिने उल्लेख गरे ।
उनले औद्योगिक क्षेत्र समेत रहेको मकवानपुरमा उद्योगसँगको सहकार्यमा विषयवस्तु अध्यापन गराउनुपर्ने बताए । सेन्टर सञ्चालनमा प्रदेश सरकारले यसमा गर्नुपर्ने साथ सहयोग अवश्य रहने दृढता व्यक्त गरे ।
कार्यक्रममा क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालले विजनेश ईन्क्युवेसन सेन्टर, इनोभेसन तथा स्कील ल्यावको विषयमा प्रस्ट्याएका थिए ।
कार्यक्रममा प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले विद्यार्थीलाई व्यवसाय, क्याम्पसका उपाध्यक्ष अशोक शाक्य, सदस्यहरु माइकल रामचन्द्र अर्याल, नवराज विष्ठ, ललितबहादुर घलान, कृष्णकुमार गुप्ता अग्रवाल, सर्केश घलान, विष्णुप्रसाद दहाल, उद्योग संघका अध्यक्ष बद्रीनाथ शर्मा, पूर्व क्याम्पस प्रमुख डा. शकंरनाथ उपाध्याय, प्राध्यापक संघका सभापति घनश्याम घिमिरे, स्ववियु सभापति छोइसाङ लामालगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम क्याम्पस व्यवस्थापक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलको अध्यक्षतामा भएको हो ।