अवैध लागूऔषधसहित आठ जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहिते देशको छुट्टाछुट्टै स्थानबाट आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, कैलाली, बारा, सुनसरी, झापा र पाल्पा जिल्लाको विभिन्न स्थानबाट लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौंको नागार्जुन नगरपालिका–२ बाट नियन्त्रित लागूऔषध डाइजेपाम १७ पिस, नोर्फिन १६ पिस र फेनारगन १६ पिससहित शनिबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–३ इचंगु नारायण बस्ने बारा घर भएका ३१ वर्षीय विद्या सागर लामा रहेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कैलालीको गोदावरी नगरपालिका–२ बदनाम गल्लीबाट नियन्त्रित लागूऔषध स्पास्मो ३६ ट्याब्लेटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–२ वनखेत बस्ने २१ वर्षीय अमित शाकी र २५ वर्षीय बिरेन्द्र साउँद रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट नियन्त्रित लागूऔषध नोर्फिन १ हजार २ सय पिस, डाइजेपाम १ हजार २ सय पिस र फेनारगन १ हजार २ सय पिससहित एक जना शनिबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–७ बस्ने १८ वर्षीया किशोरी रहेकी छन् । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५१५९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, सुनसरीको धरान उपमहानगरपालिका–१५ मिलन चोकबाट नियन्त्रित लागूऔषध स्पास्पेन १ सय २३ ट्याब्लेट र ट्रामाडोल १ सय १७ ट्याब्लेटसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय सन्जिप गिरी र २३ वर्षीय रोजेस श्रेष्ठ रहेका छन् । अस्थाई प्रहरी पोष्ट श्यामचोकबाट खटिएको प्रहरीले को.२६ प ८३७२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, झापाको मेचीनगर नगरपालिका–९ गैरी गाउँ बस्ने २८ वर्षीय सालु भन्ने अजय राजवंशीलाई अवैध लागूऔषध ब्राउनसुगर ५ ग्राम ९० मिलिग्राम, मोबाईल ५ थान र नगद ५० हजार १ सय ५० रूपैयाँसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
उता, पाल्पाको बगनासकाली गाउँपालिका–५ राम्दिबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४६ पिस, प्रोमोथाईजिन ४६ पिस, नोर्फिन ४६ पिससहित शनिबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको पोखरा घर बताउने २८ वर्षीय गणेश श्रेष्ठ रहेका छन् । प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।