मकवानपुरकी एक युवतीको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ स्थित टाँडीकी विमला डिम्डुङको मृत्यु भएको छ ।
१८ वर्षीया डिम्डुङ श्वासप्रश्वासको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, डिम्डुङ श्वासप्रश्वासको समस्या आएपछि उपचारका लागि हेटौंडा अस्पतालमा लगिएको थियो । उनलाई थप उपचारको लागि सिएमसी चुरेहिल अस्पतालमा लगिएको शनिबार साँझ उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक डिम्डुङ विगत ८ वर्षदेखि हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ भोलनटोलस्थित मामा गङ्गाराम मोक्तानको घरमा बस्दै आएको बुझिइएको छ ।
मृतकको बुवा ४० वर्षीय हर्कबहादुर डिम्डुङ डिल्लीबजार कारागारमा र ३६ वर्षीया आमा शान्तिकुमारी थिङ वैदेशिक रोजगारीको शिलशिलामा जोर्डनमा रहेको जनाइएको छ ।