‘मुलुकको विकास भनेको आर्थिक र भौतिक मात्रै होइन’
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक प्रगति मात्रै नभएको बताएका छन् । राष्ट्रपति पौडेलले संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले मंगलबार आयोजना गरेको कार्यक्रममा यस्तो बताउँदै मुलुकको विकासमा मावनीय पक्ष पनि रहेको बताएका हुन् ।
उनले श्रमको सम्मान गर्दै आर्थिक एवम् भौतिक विकासको माध्यमबाट देशलाई समृद्धिको मार्गमा अग्रसर गराउनुपर्नेमा जोड दिए । आफूले राजनीतिक जीवनमा देशको सामाजिक एवम् आर्थिक रुपान्तरणका लागि किसान र श्रमिकलाई एकसाथ लिएर हिडेको उनले बताए ।
नेपालका श्रमजीवीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका लागि गरेको योगदान सराहनीय रहेको भन्दै उनले सोही योगदानका कारण संविधानमा उचित श्रम अभ्यास, संगठन गर्न पाउने स्वतन्त्रता, सामूहिक सौदाबाजी र योगदानमा आधारित सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा समावेश गरिएको बताए ।
प्रकृतिको दोहन र मानवीयताप्रतिको बेवास्ताले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढेकामा राष्ट्रपति पौडेलले चिन्ता व्यक्त गरे ।