मेलमिलाप दिवसको अवसरमा कांग्रेस मकवानपुरद्वारा सम्मानको सुरुवात

तु खबर संवाददाता
२०८१ पुष १६,मंगलवार १९:०३

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले ४९ औँ राष्ट्रिय एकता एवम् मेलमिलाप दिवसको अवसर पारेर आज हेटौंडामा मेलमिलाप कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाले बीपी कोइरालाले मेलमिलापको प्रस्ताव लिएर भारतबाट आएको दिनलाई स्मरण गर्दै पार्टीभित्र त्यसलाई साँघुरो बनाउन नहुने बताए । महामन्त्री थापाले पार्टीभित्रको मेलमिलाप र एकतालाई मात्रै लिएर बीपीलाई सम्झिने हो भने अन्याय हुनेसमेत उल्लेख गरे ।

उनले पार्टीको १५ औँ महाधिवेशन पनि समयमै हुने बताउँदै अहिले जनताको कामलाई बढी प्राथमिकता दिएर जनताको समस्या समाधान गर्नेतर्फ केन्द्रीत हुन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

सहकारी ठगी प्रकरणको सन्दर्भमा महामन्त्री थापाले कानुन सबैलाई बराबर हुने भन्दै कांग्रेसको ठूलै नेता सहकारी ठगीमा संलग्न देखिए पनि पाता कसेर लैजानुपर्ने बताए । उनले भने,‘म यो या त्यो भन्दिन । कानून सबैका लागि बराबर हो । नेपाली कांग्रेसकै नेता पनि सहकारी ठगी प्रकरणमा संलग्न देखिए पाता कसेर लैजानुपर्छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बैठकको बेला पनि आफूले यस विषयमा भनिरहेको भन्दै गल्ती देखिए आफुलाई पनि कारबाही गर्नुपर्ने उल्लेख गरे ।

जसले ठगी गरेको हो, उही दण्डित हुनुपर्ने र अरुले झण्डा लिएर बचाउमा उत्रन नहुने उनको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य मोहन आचार्यले कांग्रेसलाई बलियो बनाएर लैजान अब सबै एकजुट हुनुपर्ने बेला भएको बताए ।

उनीहरुले पार्टी भित्रका तीतामिठा कुराहरुलाई विर्सिएर मुल मुद्धामा सबै नेता तथा कार्यकर्ताहरु केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

जिल्ला सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसमा आवद्ध भएर विभिन्न कालखण्डमा पार्टीप्रति योगदान पुर्याएका ३० जनालाई सम्मान गरिएको थियो ।

त्यस्तै नेकपा एमाले, माओवादी केन्द्र लगायतका विभिन्न दल परित्याग गरी २० जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

मेलमिलाप कार्यक्रमबाटै मकवानपुरमा सम्मानको सुरुवात भएको लामाले बताए । पार्टी संगठनमा जब विखण्डनको अवस्था आउँछ तब कांग्रेसले मेलमिलापको नीति अवलम्वन गर्दै आएको भन्दै उनले मकवानपुरमा यो कार्यक्रमले निकै महत्व राख्ने समेत बताए । लामाले एकअर्कालाई सम्मान गर्दा नै मित्रता बढ्ने भन्दै सम्मान कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनलगायत पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।