विपद् प्रभावित सडक पुनः निर्माणका लागि रकम उपलब्ध गराउने प्रदेश सरकारको निर्णय

तु खबर संवाददाता
२०८१ पुष १९,शुक्रबार १८:२६
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेश सरकारले विपद् प्रभावित सडक पुनः निर्माणका २५ करोड १५ लाख रुपैयाँ रकम उपलब्ध गराउने भएको छ । शुक्रबार प्रदेशको राजधानी हेटौंडामा बसेको म’ख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले गत असोज ११ र १२ गतेको अविरल वर्षाको कारण क्षति भएका सडकमार्ग तथा पूर्वाधार पूनःनिर्माणका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

प्रवक्ता लामिछानेले हेटौंडा काठमाडौं सडक पूनः निर्माणका लागि ११ करोड २५ लाख र अन्य सडक तथा भौतिक संरचना पूनःनिर्माणका लागि ४ करोड रुपैयाँ निकासा दिने निर्णय गरेको बताए । उनका अनुसार, सो उक्त रकम आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध र भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटबाट व्यवस्थापन गर्ने निर्णय भएको छ ।

बैठकले प्रदेशस्तरबाट ११ औं तहमा बढुवा भएका निरञ्जन श्रेष्ठलाई वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन अनुसन्धान तालिम केन्द्रमा पदस्थापना गर्ने निर्णय गरेको प्रवक्ता लामिछानेले बताए ।

यसैगरी, बैठकले संघबाट सरुवा भएर आएका सचिव बिरेन्द्रदेव भारतीलाई श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिवका रुपमा खटाउने निर्णय गरेको जनाइएको छ ।