देशभर एकै साथ जलपंछी गणना हुँदै

तु खबर संवाददाता
२०८१ पुष २०,शनिबार ०८:४२

काठमाडौं । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणना कार्य हुँदैछ । प्रत्येक वर्षको जनवरी महिनाको पहिलो शनिबारबाट जलपंछी गणना कार्य गरिँदै आएको छ ।

जनवरी ४ तारिखदेखि १९ सम्म (पुष २० गतेदेखि माघ ६ गतेसम्म) जलपंछीको सङ्ख्या, प्रजाती, बासस्थानको अवस्था बारे जानकारी लिनका लागि गणनाकार्य हुनलागेको नेपाल पंछीविद संघले जनाएको छ ।

संघका चरा विद तथा वेटल्याण्ड्स इन्टरनेशनल नेपालका लागि जलपंछी गणना संयोजक लक्ष्मणप्रसाद पौडयालका अनुसार, यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङकलन कार्य हुनेछ ।

गत वर्ष कोशिटप्पु वन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौं, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदिशपुरलगायतका तालसँगै देशका विभिन्न ताल तलैया र सिमसार क्षेत्रमा जलपंछी गणनाकार्य गरिएको थियो ।

‘यस वर्ष पनि यी क्षेत्रलाई निरन्तरता दिइने लक्ष्य राखेको उनको भनाई छ । विगतका वर्ष झै यस वर्ष पनि तराई, भित्रि मधेश, रारा ताल, काठमाडौं उपत्यका र पोखरा उपत्यका सबै प्रमुख सिमसार क्षेत्रमा जलपंछी गणनाकार्य गरिने उनले जानकारी दिए ।

भारतीय महादिपमा एशियाली जलपंछी गणनाकार्य सन् १९८७ देखि वेटल्याण्ड्स इन्टरनेशनलले शुरु गरेको थियो । यो कार्य सुरुमा एशियाको अफगानिस्तान, जापान, दक्षिण एशिया र अष्ट्रेलियामा गरिएको थियो । नेपालमा पनि सन् १९८७ देखिनै एशियाली जलपंछी गणना कार्य नियमित रुपमा हुँदै आएको छ ।