आफ्नो सीमामा चेकपोस्ट निर्माण गर्दै बागमती प्रदेश सरकार
हेटौंडा । बागमती प्रदेश सरकारले आफ्नो सीमामा अत्याधुनिक चेकपोस्ट निर्माण कार्य सुरु गरेको छ । शुक्रबार मधेश प्रदेशसँग सीमा जोडिएको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटेमा मुख्यमन्त्री बहादुरसिंह लामाले चेकपोस्ट निर्माणस्थलको अनुगमन गरेका छन् ।
मुख्यमन्त्री लामाले स्थानीय तहसँग समन्वय गरेर चेकपोस्ट निर्माणस्थलको अनुगमन गरेका हुन् । प्रदेश सरकारले पहिलो चरणमा रातोमाटेसहित सिन्धुलीको भिमानमा चेकपोस्ट निर्माण गर्न लागेको मुख्यमन्त्री लामाले जानकारी दिए ।
यस्तै, दोस्रो चरणमा चितवनको नारायणगढ मुग्लिनमा, तेस्रो चरणमा सिन्धुलीको नागथान, रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको कोदारी र दोलखाको लामाबगरमा चेकपोस्ट निर्माण गरिने उनले बताए ।
चेकपोस्टमा सवारीसाधानको चेकिङका लागि अत्याधुनिक मेसिनसहित सीसीक्यामेरा र सुरक्षाकर्मी परिचालन गरिनेछ । उनले भने, ‘बागमती प्रदेशको प्रवेशबिन्दुमा हामीले चेकपोस्ट निर्माण गर्न लागेका हौं । यसबाट आन्तरिक सुरक्षा अवस्था थप बलियो हुने अपेक्षा हामीले लिएका छौं ।’