हेटौंडा बचतको वार्षिक साधारणसभा सम्पन्न

तु खबर संवाददाता
२०८१ पुष २१,आईतवार ०७:५६

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ मा मुख्य कार्यालय रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारणसभा शनिबार हेटौंडा उपमहानगरका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता एवम्ु संस्थाका अध्यक्ष इन्द्रबहादुर बस्नेतको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

अध्यक्ष बस्नेतले वार्षिक प्रतिवेदन, सचिव युवराज गौतमले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष पार्वती ढकालले वार्षिक योजना तथा बजेट साधारण सभामा पेश गरेका थिए ।

उक्त अवसरमा गत आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, ऋण उपसमिति प्रतिवेदन पेश गरिएको थियो । ७ हजार १ सय ४५ जना सेयर सदस्य रहेको संस्थाको सेयर पुँजी ४ करोड ७८ लाख ४३ हजार रुपैयाँ रहेको बताइएको छ ।

यस्तै, संस्थाको कुल बचत ५४ करोड ६० लाख २७ हजार रुपैयाँ रहेको छ । लगानी रहेको ऋण रकम ५५ करोड २१ लाख, जगेडा कोष ३ करोड ५५ लाख, अन्य कोष १ करोड २६ लाख रहेको अध्यक्ष इन्द्र बहादुर बस्नेतले बताए ।

सो अवसरमा संस्थाले टिम टेलिभिजनका संवाददाता मनिल महतोलाई सम्मान समेत गरेको थियो ।

यस्तै, कार्यक्रममा उत्कृष्ट कर्मचारी, नियमित बचतकर्ता, असल ऋणि, एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको सचिव युवराज गौतमले बताए ।

संस्थाको हेटौंडा–८ कमाने, हेटौंडा–१६ चिसापानी, हेटौंडा–२ मा सदस्य सेवा केन्द्र समेत रहेको छ ।