लागूऔषध प्रयोगकर्ताका लागि थ्रीडी पेन्टिङ, कफी बनाउने र मौरीपालन तालिम

तु खबर संवाददाता
२०८१ पुष २१,आईतवार ०८:०८

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा लागूऔषध प्रयोगकर्ताका लागि विभिन्न तालिम दिइएको छ । लागूऔषधमा फसेका व्यक्तिहरूलाई समाजमा पुनः स्थापित गर्ने उद्देश्यले सिआन पुर्नस्थापना केन्द्र हेटौंडाले थ्रीडी पेन्टिङ, कफी बनाउने र मौरीपालन तालिमको आयोजना गरेको हो ।

बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको सहयोगमा गत मंसिर २७ गतेदेखि शुरु भएको उक्त तालिम शनिबार समापन गरिएको हो । तालिममा ११० जनाले सहभागीता जनाएका थिए ।

समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले यस्ता तालिमले लागूऔषधको दलदलमा परेकालाई नयाँ जीवन दिने विश्वास व्यक्त गरिन् ।

सिआन पुनःस्थापना केन्द्रका अध्यक्ष बिजेन्द्र अग्रवालको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक सौजन डी.सी., गैसस मकवानपुरकी अध्यक्ष रमिला सापकोटा र अन्य विशिष्ट व्यक्तिहरूले मन्तव्य राखेका थिए ।

यस्ता कार्यक्रमले लागूऔषध दुरुपयोगको समस्या समाधान गर्न मात्र नभई समस्यामा परेकालाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उनीहरुले बताए ।

मकवानपुर जिल्लामा २०७३ सालबाट सञ्चालनमा आएको सिआन पुर्नस्थापना केन्द्रले लागूऔषध दुर्व्यसनीमा फसेका व्यक्तीहरुको विभिन्न तरिकाको उपचार पद्धतीबाट दुर्व्यसनी छुटाउने कार्य गर्दै आइरहेको छ । उपचार अवधि ६ महिनाको हुने र आवश्यक परेको खण्डमा समय थप गर्दै लैजाने व्यवस्था रहेको जनाइएको छ ।