प्रेस युनियन मकवानपुरद्वारा चार जना पुरस्कृत
हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले चार जना प्रेस युनियनकर्मीहरुलाई पुरस्कार प्रदान गरेको छ । शनिबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियन मकवानपुरको वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रममा चार जनालाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।
युनियन मकवानपुरले संस्थापक अध्यक्ष राममणी दाहाललाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरेको हो । दाहाललाई स्वर्गीय सितादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कार– २०८१ प्रदान गरिएको हो ।
त्यसैगरी, जनही १० हजारसहित नगद प्रेस युनियन पत्रकारिता पुरस्कार–२०८१ बाट प्रेस युनियनका बागमती प्रदेश सदस्य गंगाप्रसाद पौडेल, गणेश दर्पण अधिकारी र मन्दिरा बानियाँ (मानवी) लाई पुरस्कार प्रदान गरिएको हो ।
साधारणसभा नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीको सभाध्यक्षता एवम् नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा ब्लोनको विशिष्ट आतिथ्यता एवम् नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रेस युनियनका उपाध्यक्ष, नकुल अर्याल, महासचिव दीलिप पौडेल, केन्द्रीय सदस्यद्वय राजन दाहाल खुसराज, सबिना पौडेललगायतको आतिथ्यता रहेको थियो ।
सो क्रममा प्रेस युनियनले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै अध्यक्ष बालकृष्ण अधिकारीलाई प्रमाणपत्रसमेत प्रदान समेत गरेको थियो ।
पुरस्कार स्थापनाको लागि गैर आवासीय नेपाली संघ (एनआरएन) का अभियान्ता हाल वेलायत निवासी चिरञ्जीवी ढकाल र हाल अमेरिका निवासी मकवानपुरे पत्रकार सुदीप शिवाकोटीले सहयोग गरेको अध्यक्ष बिडारीले जानकारी दिए ।
साथै, साधारणसभामा संगठनका सचिव बलराम पुडासैनी र कोषाध्यक्ष प्रदीप अधिकारीद्वारा प्रस्तुत गरिएको प्रतिवेदन सर्वसम्मत पारित भएको गरिएको थियो ।