मउवा संघको वस्तुगत तर्फको सदस्यमा नेपालको उम्मेदवारी घोषणा
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको आसन्न निर्वाचनमा वस्तुगत तर्फको सदस्य पदमा राजु नेपालले उम्मेदवारी घोषणा गरेका छन् । मकवानपुर मुद्रण उद्योग संघको बनभोज कार्यक्रममा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
कुनै पनि अध्यक्ष उम्मेदवारको प्यानलमा नभएको नेपाल सबैको साझा उम्मेदवार हुन् । बिगत १५ वर्षदेखि सबै व्यवसायीको समस्याको विषयमा बोल्दै आएको उनले अब ती तमाम विषयहरुमा काम गर्न आफ्नो उम्मेदवारी रहेको नेपालले बताए ।
उनका अनुसार उद्योगी तथा व्यवसायीको समस्या समाधानको निमित्त नेतृत्वलाई दवाब दिनको लागि व्यवसायीकै सुझावमा एक कदम अगाडी बढ्दै साझा उम्मेदवारको रुपमा उम्मेदवारी दिने भएका हुन् ।
उनले उद्योगी तथा व्यवसायी समक्ष मत अपिल समेत गरेका छन् । उनले भने, ‘उद्योगी, व्यवसायी तथा मतदाताहरुकै सुझावमा मैले उम्मेदवारी दिने निर्णय गरेँ । मलाई जित हारले अर्थ राख्दैन, हारे पनि जितेपनि म उहाँहरुकै हक–हितको लागि सदैव तत्पर रहने छु ।’
संघले सोही पिकनिककै अवसरमा संघका अध्यक्ष समेत रहेका नेपाललाई उक्त पदको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिएको छ । संघले नेपालको पक्षमा बस्तुगततर्फ सम्पूर्ण व्यवसायीहरुको साझा उम्मेदवारको रुपमा मत माग्ने निर्णय गरेको हो ।
घोषणा कार्यक्रममा संघका संस्थापक अध्यक्ष गोकर्ण सुबेदी, संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोपाल प्रसाद ढकाल, केन्द्रीय प्रथम उपाध्यक्ष रामप्रसाद घिमिरे, केन्द्रीय सहसचिब खिलानाथ लुईटेल, सहित बिभिन्न बस्तुगत संघका अध्यक्ष एवम प्रतिनिधी र पूर्व अध्यक्षहरु लगायतको उपस्थिति थियो ।