मउवा संघः रानाभाटको टिम घोषणा र प्रतिबद्धतापत्र सार्वजनिक

तु खबर संवाददाता
२०८१ पुष २२,सोमबार ०९:२८

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका अध्यक्ष पदका उम्मेदवार प्रमोद सिंह रानाभाटले आफ्नो नेतृत्वको टिम घोषणा र प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

उनले आइतबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् यही पुष २७ गते हुने निर्वाचनमा आफ्नो नेतृत्वमा रहेका व्यवसायीहरुको नाम सार्वजनिक गर्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

रानाभाट नेतृत्वको टिममा विभिन्न तहका योग्य र अनुभवी उम्मेदवारहरू रहेका छन् । रानाभाटको टिममा मउवा संघको महासचिव पदमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा श्रीकृष्ण कर्माचार्य र सह–कोषाध्यक्षमा निलम वैद्यको उम्मेदवारी रहने भएका छन् ।

यस्तै, वाणिज्यतर्फ रामप्रसाद न्यौपाने उपाध्यक्षका रूपमा, कुलप्रसाद चौलागाई सचिव पदमा, राजेन्द्र लामिछाने (राजेश), सन्तोष घिमिरे, राजदेव बनियाँ, होमनाथ खनाल (रोशन), र महिला आरक्षणतर्फ निलम बजगाई देवकोटा सदस्यका रूपमा अगाडि बढाएको छ ।

उद्योगतर्फ दीपक उप्रेती उपाध्यक्ष पदका उम्मेदवार हुन् । रुपकराज दहाल सचिव र जगदिश दहाल, कृष्णराज कोइराला, भुपेन्द्र अधिकारी, र महिला आरक्षणतर्फ सीतादेवी भेटवाल सदस्य पदमा छन् ।

एशोसियटतर्फ उज्जवल चौलागाई उपाध्यक्ष र माधव ज्ञवाली सचिव पदमा उम्मेदवारी दिँदै संघलाई थप मजबुत बनाउने योजनासहित अघि बढेका छन्। उनीहरूको साथमा अंकिता सुमार्गी, नवराज खतिवडा, र सुकृत पराजुली सदस्य पदका लागि मैदानमा उत्रिने भएका छन् ।

त्यस्तै, वस्तुगततर्फ प्रदीप अर्याल उपाध्यक्ष पदका उम्मेदवार छन् भने राजाराम कार्की सचिव र कृष्ण अर्याल सदस्य पदका लागि टिममा सामेल भएका छन् ।

सार्वजनिक प्रतिबद्धता पत्रमा व्यवसायिक समुदायका सबै तहलाई प्रतिनिधित्व गर्दै समावेशी र दूरदर्शी योजना प्रस्तुत गर्ने उल्लेख गरिएको छ । उम्मेदवार रानाभाटले टिम व्यवसायीहरूको हकहित संरक्षण, उद्यमशीलताको प्रवद्र्धन, र मकवानपुरको व्यापारिक समृद्धिमा योगदान पु¥याउने उद्देश्य राख्दै अगाडि बढेको बताए ।

रानाभाटले आफूलाई अध्यक्ष पदका लागि योग्य उम्मेदवारका रूपमा प्रस्तुत गर्दै आफ्नो अनुभव र प्रतिबद्धताको आधारमा संघलाई अझ प्रभावकारी बनाउने योजना प्रस्तुत गरेका छन् ।

रानाभाटले आफ्नो उम्मेदवारीलाई व्यवसायीहरूको हकहित र संघको गरिमा बचाउने अभियानका रूपमा अघि सारेका छन् । उनले व्यवसायिक समुदायका समस्या समाधान गर्दै संघलाई अझ सक्षम र प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आफ्नो प्राथमिकताहरूलाई व्यवसायिक समृद्धि, सामाजिक उत्तरदायित्व, र व्यवसायमैत्री वातावरण निर्माणमा केन्द्रित गर्दै संघलाई नयाँ उचाइमा पु¥याउने योजनाहरू सार्वजनिक गरेका छन् । उनले मुख्य रूपमा संघको गरिमा बचाउँदै व्यवसायीहरूको आवाज बुलन्द राख्ने आफ्नो प्राथमिक उद्देश्य रहेको बताएका छन्। उनी व्यवसायीहरूले सामना गरिरहेका वित्तीय, नीतिगत, र व्यवस्थापकीय समस्याहरू समाधान गर्न आफ्नो नेतृत्वलाई प्रभावकारी बनाउने अठोटका साथ अघि बढिरहेको बताए ।

रानाभाटले व्यवसायीक क्षेत्रलाई सबै वर्ग, स्तर, र समुदायका व्यवसायीहरूसँग समेट्ने र उनीहरूका अधिकार सुनिश्चित गर्न काम गर्ने दृढता व्यक्त गरेका छन् । संघको संरचना र भौतिक पूर्वाधारलाई आधुनिक बनाउँदै व्यवसायीहरूको लागि उत्कृष्ट सेवा प्रदान गर्ने उनको मुख्य प्राथमिकतामा पर्दछ ।

साथै, स्थानीय उद्यमी र नयाँ व्यवसाय विकास गर्न तालिम र सहकार्यका कार्यक्रम सञ्चालन गर्दै मकवानपुरलाई दिगो आर्थिक विकासको नमूना बनाउने योजना पनि रानाभाटको एजेन्डामा छ। संकट व्यवस्थापन कोषको स्थापना, महिला र युवा उद्यमीको प्रवद्र्धन, र मकवानपुरका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने योजना उनका प्राथमिकतामा पर्छन् ।

रानाभाटले भनेका छन्, “मकवानपुर उद्योग वाणिज्य संघ केवल एक संस्था मात्र होइन, यो मकवानपुरका व्यवसायीहरूको पहिचान हो। मेरो प्राथमिकता यस पहिचानलाई अझ सशक्त बनाउँदै व्यवसायीक समुदायका समस्या समाधानमा केन्द्रित रहनेछ ।”

उनले संघलाई पारदर्शी, समावेशी, र उत्तरदायी बनाउन संघको आन्तरिक व्यवस्थापन सुधार गर्ने र नयाँ प्रविधिहरूको प्रयोग गरेर सेवा सुविधालाई सहज बनाउने आफ्नो प्रतिवद्धता व्यक्त गरेका छन् ।