मकवानपुरमा म्याथम्याटिकल ओलम्पियाड प्रतियोगिता हुँदै
मकवानपुर । मकवानपुरमा पहिलो पटक म्याथम्याटिकल ओलम्पियाड प्रतियोगिता २०२५ हुँदैछ । प्रतियोगिता म्याथ एसोसियशन नेपाल बागमती प्रदेशकोे आयोजनामा हुन लागेको हो ।
एसोसियशनले यही पौष २६ गते मकवानपुरका ८ वटा शैक्षिक संस्थामा जिल्ला स्तरीय म्याथम्याटिकल ओलम्पियाड प्रतियोगिता आयोजना गर्न लागेको आइतबार आयोजित अभिमुखीकरण कार्यक्रममा जानकारी गराइएको हो ।
सो प्रतियोगिता हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, महेन्द्र मावि बकैया, युनाइटेड इंग्लिश स्कुल मनहरी, कालिका मावि कैलाश, जनता मावि बागमती, जनकल्याण मावि थाहा नगर र चण्डिका मावि मकवानपुरगढीमा हुनेछ । सबै केन्द्रमा शुक्रबार बिहान ११ बजेदेखि प्रतियोगिता सुरु हुनेछ ।
प्रतियोगितामा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा ५० वटा वैकल्पिक प्रश्न सोधिनेछ । जसको लागि एक घण्टा ४० मिनेटको समय निर्धारण गरिएको छ । ५० प्रतिशत मिलाउने विद्यार्थी प्रदेश स्तरीय प्रतियोगितामा सामेल हुन पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताबाट छनौट भएका विद्याथीृलाई राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी गराइने म्याथ म्याटिकल एसोसियशन अफ नेपालका सचिव किशन बास्तोलाले जानकारी दिए ।
उनका अनुसार, राष्ट्रिय प्रतियोगिताबाट छानिएका उत्कृष्ट ६ जना विद्यार्थीले जुलाई १० देखि २० तारिखसम्म अष्ट्रेलियाको मेलवर्नमा आयोजना हुने अन्तराष्ट्रिय म्याथ म्याटिकल प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुन प्रवेश शुल्क ५०० रुपैयाँ तोकिएको छ ।