हेटौंडामा ड्रेनसहितको क्रिकेट मैदान निर्माण हुँदै

तु खबर संवाददाता
२०८१ पुष २२,सोमबार १६:२१

मकवानपुर । बागमती प्रदेशको राजधानीस्थित हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र ड्रेनसहितको क्रिकेट मैदान निर्माण हुँदैछ । रु ११ करोड ७४ लाख रुपैयाँमा उक्त स्थानमा क्रिकेट मैदान निर्माण भइरहेको प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक लामाले जानकारी दिए ।

उनका अनुसार, अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार दर्शक क्षमताको एउटा प्याराफिटसहित पाँच वटा पिच, ७० मिटर रेडिएसको मैदान, स्कोर बोर्ड, भिभिआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम (कपडा फेर्ने कोठा), टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुनेछ ।

क्रिकेट मैदानमा चार वटा ब्लकमा प्याराफिट निर्माण गर्ने डिपीआर निर्माण गरिएको र त्यसमध्ये हाल एउटा ब्लकको काम भइरहेको उनले बताए । उक्त निर्माणधिन क्रिकेट मैदान सम्पन्न गर्न रु नौ करोड ४२ लाख ८२ हजारमा २०८० चैत २० मा एसएनएस पिएल एचकेसी जेभीले ठेक्का लिएको थियो ।

हाल मैदान सम्याउने काम भइरहेको छ र अधिकांश बजेट मैदान बनाउनमै खर्च हुने उनले बताए । मैदानको लेभल मिलाएपछि भूमिगत ढलमार्फत पानी पठाउन पाइप बिछ्याउने काम हुनेछ भने विभिन्न तहमा ग्राभेल, माटो बिछ्याउने उहाँले बताउनुभयो । मैदानको सबैभन्दा माथिल्लो भागमा बर्मुण्डा दुबो रहने लामाले बताए ।

गत आइतबार नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले हेटौंडा–६ स्थित गौरीटार रंगशालामा निर्माण भइरहेको क्रिकेट ग्राउण्डको स्थलगत अनुगमन गरेका थिए ।