हेटौंडा–१३ लाई बालमैत्री वडा घोषणा गरिँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–१३ ले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो ।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई यही पुष २४ गते बुधबार बालमैत्री वडा घोषणा गर्न लागिएको सोमबार पत्रकार सम्मेलनमार्फत् हेटौंडा–१३ का वडाध्यक्ष पेम्बा लामाले जानकारी दिए ।
बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा मुल समारोहका संयोजक समेत रहेका उनले स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमध्ये हाल ४५ वटा सूचकमा शतप्रतिशत, २ वटा सूचकमा ९८ प्रतिशत, १ वटामा ९६ प्रतिशत, १ वटा सूचकमा ९५ प्रतिशत र २ वटा सूचकमा ८१ प्रतिशत काम भएको बताए ।
हेटौंडा–१३ साबिकको पदमपोखरी गा.वि.सको वडा नम्वर १, २, ३ र ६ मिलेर बनेको हो । यसको कुल क्षेत्रफल २१ दशमलव ४१ वर्ग किलोमिटर रहेको छ । यस वडाको पुर्व सिमानामा वडा नम्वर १४, पश्चिम सिमानामा मनहरी गाउँपालिका, उत्तरमा वडा नम्वर १२ र दक्षिणतर्फ पर्सा राष्ट्रिय निकुञ्ज अवस्थित रहेको छ ।
१९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकामा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने क्रम बढ्दो छ ।