हेटौंडा–१३ लाई आज बालमैत्री वडा घोषणा गरिँदै

तु खबर संवाददाता
२०८१ पुष २४,बुधबार ०८:५४

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–१३ ले आज बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो ।

‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–१३ का वडाध्यक्ष पेम्बा लामाले जानकारी दिए ।

हेटौंडा–१३ साबिकको पदमपोखरी गा।वि।सको वडा नम्वर १, २, ३ र ६ मिलेर बनेको हो । यसको कुल क्षेत्रफल २१ दशमलव ४१ वर्ग किलोमिटर रहेको छ । यस वडाको पुर्व सिमानामा वडा नम्वर १४, पश्चिम सिमानामा मनहरी गाउँपालिका, उत्तरमा वडा नम्वर १२ र दक्षिणतर्फ पर्सा राष्ट्रिय निकुञ्ज अवस्थित रहेको छ ।

१९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकामा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने क्रम बढ्दो छ ।