तामाङ संघ मकवानपुरको दोस्रो अधिवेशनको तयारी पूरा
मकवानपुर । नेपाली काँग्रेसको जातीय भातृ संगठन नेपाल तामाङ संघ मकवानपुरको अधिवेशनको तयारी पूरा भएको छ । यही पुष २६ गते हेटौंडामा हुने संघको दोस्रो अधिवेशनको तयारी पूरा भएको हो ।
संघले पुष ६ मा अधिवेशनको तयारी बारे छलफलका लागि बैठक बसेर अधिवेशन मिति तय गरेको थियो । हेटौंडा–१३ पदमपोखरी पार्टी प्यालेसमा हुने अधिवेशनमा जिल्लाको १० वटै स्थानीय तहका नेता तथा कार्यकर्ता सहभागी रहने संघका हेटौंडा उपमहानगरपालिका नगर समिती सभापति रोशन गोले तामाङले जानकारी दिए ।
उनका अनुसार, अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिने छ। बागमती प्रदेश मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता तथा नेपाली काँग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेशसभा सदस्य इन्द्र बहादुर बानियाँको विशिष्ट आतिथ्यता रहने कार्यक्रममा नेपाली काँग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामा लगायतको आतिथ्यता रहने उनले बताए । यस्तै, कार्यक्रममा संयोजक हरि मुक्तानको सभाध्यक्षता रहनेछ।
यसअघि संघको पहिलो अधिवेशनबाट नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य चम्पुरत्न लामालाई सभापतिको जिम्मेवारी दिइएको थियो।