भुटनदेवी सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीद्वारा शपथ ग्रहण
हेटौंडा । भुटनदेवी सामुदायिक वन उपभोक्ता समूहले नयाँ कार्यसमिति पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् । समूहका अध्यक्ष सोमबहादुर लामा, उपाध्यक्ष सुरेश कुमार लामा, सचिव अन्जुकुमारी लामा, सह–सचिव इन्दिरा लामा र कोषाध्यक्ष उमा सुनारले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
त्यसैगरी, सदस्यहरू दुर्गा बहादुर लामा, चन्द्रदेवी बि.क., यमुना सुनार, गीता देवी यादव, सान्तकी खड्की, र धु्रव हाडाले मंगलबार आयोजित एक कार्यक्रममा शपथ लिँदै गर्दै आफ्नो जिम्मेवारी औपचारिक रूपमा ग्रहण गरेका हुन् ।
सो क्रममा कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष फुर्बा दोर्जे लामाले सामुदायिक वनलाई उत्कृष्ट उदाहरणको रूपमा विकास गर्न सबै पदाधिकारीहरूलाई सक्रिय र जिम्मेवार भएर काम गर्न आग्रह गरे ।
उनले विगतका गल्ती र कमजोरीहरूको समीक्षा गर्दै सुधारको प्रक्रियामा अघि बढ्नुपर्नेमा जोड दिए । साथै, सामुदायिक वन र उपभोक्ता समूहहरू नङ र मासुको सम्बन्ध जस्तै हुनुपर्ने उनको धारणा थियो । अध्यक्षको भूमिकाको महत्त्वलाई प्रस्ट्याउँदै, उनले राम्रो वा नराम्रो जे काम भए पनि त्यसको जिम्मेवारी अध्यक्षकै हुने भएकाले सचेत र निष्ठापूर्वक काम गर्न आग्रह गरे ।
कार्यक्रममा सहभागी अतिथिहरूले नयाँ कार्यसमितिलाई कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गरे। कार्यक्रमको सभापतित्व निर्वाचन समितिका संयोजक रामहरि चौलागाईंले गरेका थिए भने प्रमुख अतिथि वडा नम्बर १० का अध्यक्ष फुर्बा दोर्जे लामा रहेका थिए ।
कार्यक्रममा डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख राकेश चन्द्र, खेलकुद विकास समिति मकवानपुरका पूर्व अध्यक्ष सानु लामा लगायतको आतिथ्यता रहेको थियो ।