हेटौंडामा विजनेश ईन्क्यूबेशन सेन्टरको स्थापना

तु खबर संवाददाता
२०८१ पुष २४,बुधबार २०:१८

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा विजनेश ईन्क्यूबेशन सेन्टरको स्थापना गरिएको छ । बागमती प्रदेश सरकारको २० लाख रुपैयाँ आर्थिक सहयोगमा सो सेन्टरको स्थापना गरिएको हो ।

बुधबार एक कार्यक्रमबीच प्रदेशकी उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री सुकुमाया तामाङले हेटौंडा–२ स्थित मकवानपुर उद्योग वाणिज्य संघको कार्यालयमा स्थापना गरिएको उक्त सेन्टरको उद्घाटन गरेकी हुन् ।

सो क्रममा बोल्दै मन्त्री लामाले व्यवसायमा लाग्न चाहाने युवाहरुका लागि यो सेन्टर प्रभावकारी हुन दाबी गरिन् । उनले युवा तथा महिलाहरुको भावना अनुरुप कार्य गर्नका लागि उद्योग वाणिज्य संघको आयोजना राम्रो भएको बताइन् । संघले गरेको कार्यको प्रशंसा गर्दै उनले युवा तथा महिलाको क्षमता विकास लगायत ईक्युवेसन, लर्निङ्ग सेन्टरको व्यवस्थापनमा मन्त्रालयका सचिव र कर्मचारीहरुसँग सल्लाह गरी मन्त्रालयबाट हुन सक्ने सहयोग गर्ने दृढता व्यक्त गरिन् ।

यस्तै, मकवानपुर उद्योग वाणिज्य संघका एशोसियट उपाध्यक्ष उज्वल चौलागाईले विजनेशमा आबद्ध हुन चाहाने युवाहरुलाई लक्षित गरेर सो सेन्टरको स्थापना गरिएको बताए । युवाहरुलाई व्यवसाय गर्नुअघि तालिम प्रदान गर्ने स्वदेशी तथा विदेशी उद्यमीहरुसँग अन्तरक्रिया गराउने, रोजगारीका अवसरहरु सृजना गर्ने यसको मुख्य लक्ष्य रहेको बताए ।

कार्यक्रममा उद्योग , वाणिज्य , भुमि तथा प्रशासन मन्त्रालयका सचिव राजेन्द्र केसी , संघका पुर्व अध्यक्ष उत्तम शर्मा ढकाल, जिवन काजि मकाजु लगायतको उपस्थित रहेको थियो ।

उद्घाटन कार्यक्रम मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षतामा भएको हो ।