औद्योगिक क्षेत्र फस्टाउन लगानीमैत्री वातावरण जरुरी छः मुख्यमन्त्री लामा

तु खबर संवाददाता
२०८१ पुष २४,बुधबार २०:५९

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले औद्योगिक क्षेत्र फस्टाउन लगानीमैत्री वातावरण जरुरी भएको जिकिर गरेका छन् । सरकारले नियम, कानुन बनाउँदैमा मात्र लगानीमैत्री वातावरण नबन्ने भन्दै उनले औद्योगिक क्षेत्र फस्टाउन लगानीमैत्री वातावरण जरुरी रहेको जिकिर गरेका हुन् ।

मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको बुधबार हेटौंडामा भएके ५८ औं वार्षिक साधारणसभालाई सम्बाधेन गर्दै मुख्यमन्त्री लामाले यस्तो जिकिर गरेका हुन् । उनले आधुनिक विधि, प्रविधिको सदुपयोग गरी उत्पादनमुलक उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने जोड दिए । उद्योगीहरुले पनि आफुहरुबीचको एकता र सहकार्य गर्नुपर्ने उनको भनाई छ ।

उनले प्रदेशमा बहुराष्ट्रिय कम्पनी एवम् अन्य उद्योगहरुलाई औद्योगिक क्षेत्रमा लगानी गर्ने वातावरण तयारी गर्न प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर आवश्यक ऐन कानून छिट्टै तर्जुमा गर्न लागेको बताए । प्रचुअल सम्भावना रहेको नदी–नाला, खोलाबाट विद्युत उर्जा शक्ति उत्पादन गरेर देशलाई आर्थिक समुनन्त तुल्याउन प्रदेश सरकारले अब उद्योग तथा व्यवसायीहरुलाई पनि आफ्नो बानी ब्यहोरा सोचमा परिवर्तन गरी उर्जामा लगानीको स्तर बढाउनेतर्फ अग्रसर हुन उनले उद्योगीहरुलाई आग्रह गरे ।

उद्योग वाणिज्य संघको निर्वाचनलाई अस्वस्थ प्रतिस्पर्धा नगरी आपसमा समन्वय र सहकार्य गरेर आगामी ३ वर्षको लागि अध्यक्ष लगायत अन्य पदाधिकारीहरुको निर्वाचन सर्वसम्मतीबाट सम्पन्न गर्नेतर्फ लाग्न आग्रह गरे ।

यस्तै, कार्यक्रममा बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री सुकुमाया तामाङले प्रदेशको विभिन्न जिल्लामा त्यहाँको मौसम अनुसार विभिन्न उद्योगहरु स्थापना गर्ने क्रममा प्रदेश सरकारले विशेष सुविधा उपलब्ध गराउने निर्णय गरेको र समाजमा पिछडिएको महिलाहरुले पनि उद्योग संचालन गर्न सम्बन्धित निकार्यमा आवेदन गर्दा विशेष सुविधाको रुपमा कर छुट दिने गरेको बताइन् ।

प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री दिपकबहादुर सिंहले बागमती प्रदेशको राजधानी हेटौंडालाई औद्योगिक क्षेत्रको रुपमा थप व्यवस्थापन गर्न संघीय सरकारले बाधकको रुपमा रहेको पुराना ऐनहरुको दफालाई संशोधन गरी नयाँ ऐन बनाउन आवश्यक भएकोले आफुले पटक–पटक सरकारको ध्यानाकर्षण गराएको उल्लेख गरे ।

उक्त अवसरमा प्रतिनिधि सभाका सदस्य तथा पूर्व मन्त्री राजेन्द्र (राजन) केसीले उद्योग, वाणिज्य, उर्जा क्षेत्र र पर्यटनको पूर्वाधार विकासको लागि संघीय सरकार र प्रदेश सरकारबीच समन्वय हुनुपर्ने र बहुराष्ट्रिय कम्पनी स्थापना गर्न आवश्यक ऐन कानूनको तर्जुमा गरी उद्योगको व्यवस्थापनलाई जग्गा, खानेपानी, विद्युत उपलब्ध गराउन सके मात्रै प्रत्यक्ष रोजगारीको अवसर प्राप्त हुने बताए ।

प्रतिनिधि सभाका अर्का सदस्य महेशकुमार बर्तोलाले पूर्व–पश्चिम र हेटौंडा–काठमाडौं जोड्ने एसियन हाई–वे सडकलाई थप विस्तार र सम्बद्र्धन गर्ने मकवानपुरको विभिन्न स्थानमा सर्वसाधारणको घर–जग्गा पर्ने भएकोले उचित क्षतिपूर्ति दिएर सडक विस्तार गर्नेतर्फ प्रदेश सरकारको पनि भूमिका आवश्यक रहेको बताए ।

कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामी (छिन्तु), जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, नेपाली कांग्रेस मकवानपुरका अध्यक्ष बुद्ध लामा, नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, मकवानपुुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

मकवानपुुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालको सभाध्यक्षतामा भएको कार्यक्रममा मउवा संघद्वारा प्रकाशित गरेको स्मारिकाको विमोचन पनि गरिएको थियो ।

मउवा संघद्वारा छ जना सम्मानित

मकवानपुर उद्योग वाणिज्य (मउवा) संघले विभिन्न विधानमा छ जनालाई सम्मान गरेको छ । मउवा संघले दुई जना पूर्व अध्यक्ष, एक कर्मचारी, एक साहित्यक र दुई पत्रकारलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा संघका पूर्व अध्यक्षद्वय हिटलर विशेत र कृष्णकुमार कटुवाल रहेका छन् । यस्तै, साहित्यक क्षेत्रका डि.बि. बर्तौला र मकवानपुर उद्योग वाणिज्य संघका कर्मचारी दुर्गा लामिछानेलाई जनही १५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

यस्तै, संघले पत्रकारद्वय कान्तिपुर दैनिकका प्रताव विष्ट र रेडियो मकवानपुरका स्टेशन म्यानेजर एवम् प्रदेश दैनिकका सम्पादक गणेश दर्पण अधिकारीलाई नगदसहित सम्मान गरेको हो ।

उनीहरुलाई क्रमशः रु २० हजार रुपैयाँ र १५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथिलगायतले सो सम्मान पत्र र नगद रकम हस्तान्तरण गरेका थिए ।

मउवा संघले समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठलाई पनि सम्मान गर्ने घोषणा गरेको थियो । तर, श्रेष्ठले भने सो पुरस्कार ग्रहण गरेनन् । श्रेष्ठले आफ्नो आत्मसम्मान र व्यवसायीक पत्रकारितामाथि आँच पुग्ने भएपछि आफुले सो पुरस्कार  ग्रहण नगरेको बताए ।

मकवानपुर उद्योग वाणिज्य संघको यही पुस २७ गते अध्यक्ष र पदाधिकारी सदस्यहरुको निर्वाचन हुँदैछ । त्यसको लागि भोलि पुस २५ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकेको मउवा संघका अध्यक्ष अग्रवालले बताए ।