रास्वपाका सभापति आज काठमाडौं अदालतमा उपस्थित हुँदै

तु खबर संवाददाता
२०८१ पुष २६,शुक्रबार १०:२७
file-photo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतबाट बिहीबार धरौटीमा रिहा भएका सभापति लामिछाने आज काठमाडौं जिल्ला अदालतमा आफै उपस्थित हुने भएका हुन् ।

पूर्व गृहमन्त्री समेत रहेका उनीविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन लागेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको आदेशमा लामिछाने ६५ लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट रिहा भएका थिए । उनलाई आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने कागज गराई रिहा गराइएके थियो ।

लामिछाने सहकारी ठगी लगायत विभिन्न मुद्दामा गत कात्तिक २ गते पक्राउ परेका थिए ।