युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

तु खबर संवाददाता
२०८१ पुष २६,शुक्रबार १६:०८

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा बुधबार एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको वैतेश्वर गाउँपालिका–३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाल रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, रामकृष्णले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३१ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितले प्रहरी समक्ष उजुरी दिएको थियो । सोकेही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।