माघी पर्वको अवसरमा सार्वजनिक विदा
धनगढी । सुदूरपश्चिम प्रदेशमा यही पुस २९ गते सार्वजनिक विदा दिइएको छ । प्रदेश सरकारले थारु समुदायको माघी (माघ) पर्वको अवसरमा उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
पश्चिम नेपालको थारु समुदायमा माघी पर्व पुष महिनाको अन्तिम दिनदेखि नै सुरु हुने भएकाले प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयले जनाएको छ ।
पुस अन्तिम दिन थारु समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन रहेको छ ।
माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन रहेको थारु समुदायमा पुष अन्तिम दिनदेखि माघ १ र २ गतेसम्म विशेष रूपमा पर्व मनाइन्छ ।
सो अवसरमा माघ १ गते राष्ट्रिय पर्वको रूपमा नै विदा दिइँदै आइएको छ । त्यसपछि स्थानीय स्तरमा पनि सार्वजनिक विदा दिइँदै आइएको छ ।