लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

तु खबर संवाददाता
२०८१ पुष २६,शुक्रबार १७:०१

काठमाडौं । अब लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो ।

केन्द्रीय बैंकले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहँुचका आधारमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा र खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ ।

लघुवित्त वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०७३ बमोजिम ग्राहकको पहिचान तथा सोको सम्पुष्टि गर्नुपर्ने बैंकले जनाएको छ ।

ग्राहक पहिचान तथा सम्पुष्टिसम्बन्धी नीति तथा कार्यविधि बनाई ग्राहकको पहिचान तथा सोको सम्पुष्टि हुने सुनिश्चितताका आधारमा विद्युतीय माध्यमबाट समेत खाता खोल्न वा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिने निर्देशनमा उल्लेख गरिएको छ ।

त्यस्तो कार्यविधिले विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने आवश्यक कागजात तथा विवरणको सूची, सही कागजात तथा विवरण प्राप्त गर्न भरपर्दो विद्युतीय माध्यम र नियमित रूपमा सम्पुष्टि गरिने विधिसमेत तय गरको हुनुपर्ने व्यवस्था छ ।

विद्युतीय माध्यमबाट गरिने कारोबारमा हुनसक्ने जोखिम एवम् दुरूपयोगबाट सुरक्षित रहन बैंक वा वित्तीय संस्थाले पर्याप्त उपाय अवलम्बन गर्नुपर्ने निर्देशनमा समेटिएको छ ।